जनता टाइम्स

१३ जेष्ठ २०७६, सोमबार २०:३७

सञ्चारमन्त्री बाँस्कोटाको जवाफ : प्रेसलाई नियन्त्रण होइन, नियमन–नियमन–नियमन गर्न चाहेको हो


काठमाडौं, जेठ १३

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले नेपाली प्रेसलाई समृद्ध बनाउन खोजेको प्रष्ट पार्नुभएको छ ।

प्रेस संगठन नेपालले कृष्णसेन इच्छुक दिवसको अवसरमा आज आयोजित पुरस्कार बितरण समारोहमा बोल्दै मन्त्री बाँस्कोटाले सरकार सदैव स्वतन्त्र प्रेसको पक्षमा रहेको प्रष्ट पार्नुभयो । उहाँले नेपाली प्रेसलाई कसरी बढी समृद्ध बनाउन सकिन्छ भनेर छलफलमा लागेको बताउनु भयो । सरकारले प्रेसलाई समृद्ध बनाउने काम गर्दा बुझ्दै नबुझी बिरोधमा लागेकोमा असन्तुष्टि जनाउँदै मन्त्री बाँस्कोटाले सरकार कुनै पनि हिसाबले प्रेसलाई नियन्त्रण गर्ने पक्षमा नरहेको तर नियमन गर्ने पक्षमा भने रहेको प्रष्ट पार्नुभयो ।

‘समृद्ध बनाउनका निम्ति हामीले समानुपातिक विज्ञापन प्रणाली ल्यायौं । यो नेपाली प्रेसको समृद्धिको विम्ब हो । विज्ञापनरहितको कुरा पनि लिएर आएका छौं, । त्यसले पनि नेपालको राष्ट्रिय अर्थतन्त्र र अर्थतन्त्रभित्रको पत्रकारिताको विकासलाई सुनिश्चित गर्छ,’ मन्त्री बास्कोटाले भन्नुभयो, ‘बुझ्र्दै नबुझी प्रेसलाई नियन्त्रण गर्न लाग्यो भनेर जागरण अभियान चलाउनेलाई प्रष्ट भन्न चाहन्छु, सरकारले नियन्त्रण होइन, नियमन गर्न लागेको हो, नियन्त्रण–नियन्त्रण–नियन्त्रण भन्नेहरुलाई भन्न चाहन्छु, नियमन–नियमन–नियमन ।’ मन्त्री बाँस्कोटाले प्रेस स्वतन्त्रता खतरामा परेको नभई झनै समृद्ध हुँदै गएको पनि प्रष्ट पार्नुभयो ।

आजको पत्रकारिता नागरिकका लागि सही सूचनाको स्रोतका रुपमा हुनुपर्नेमा जोड दिँदै मन्त्री बास्कोटाले पत्रकारिता क्षेत्र आर्थिक हिसाबले पनि समृद्ध हुने बताउनुभयो । उहाँले मिडिया उद्योग आलु, प्याज उद्योगजस्तो नभई राष्ट्र निर्माण र राष्ट्रिय एकता सुदृढ गर्ने एउटा महत्वपूर्ण माध्यम पनि रहेको बताउनुभयो । संविधानले दिएको मान्यता र मूलभूत कुरा तथा अन्तरराष्ट्रिय प्रचलनभन्दा बाहिर रहेर कुनै पनि कुरा नगरिर्न उल्लेख गर्दै उहाँले तर मिडिया विधेयकबारे प्रेस स्वतन्त्रता खतरामा पर्यो भनेर हल्ला मच्चाइएको दावी गर्नुभयो ।

‘विधेयकको गुदीमा नगएर स्वरुपमा मात्र जाने, अन्तरवस्तुमा नभएर बाह्य प्रचारमा जाने, एकोहोरो कोलाहल मच्चाउने र सरकारको आलोचना गर्ने कुराले समस्याको निकास दिँदैन,’ मन्त्री बाँस्कोटाले भन्नुभयो । उहाँले पत्रकारिताको मर्यादा र विश्वास दिलाउनका लागि स्वनियमको कुरा पनि अगाडि बढिरहेको बेला पत्रकारितालाई नियन्त्रण गर्न खोजियो भन्ने आरोप लगाइएको बताउनुभयो । मिडियामा देखापर्ने पूर्वाग्रह र आग्रह तथा वस्तुपरकताभन्दा बाहिरको कुरा प्रेस स्वतन्त्रताको विषय हुन नसक्ने मन्त्री बास्कोटाको भनाई थियो ।

उहाँले इच्छुकको सपना कार्यान्वयन गराउन संकल्प गर्नुपर्ने औंल्याउनुभयोे । ‘इच्छुकले चलाएको कलम साँच्चिकै साधारण परिवर्तनका लागि थिएन । त्यो आमूल परिवर्तनको विषय थियो,’ मन्त्री बाँस्कोटाले भन्नुभयो ।