जनता टाइम्स

२५ भाद्र २०७७, बिहीबार ०८:४३

गाडी चलाउने निर्णय नआए, स्वतस्फूर्त रुपमा आफैँ गाडी चलाउन बाध्य हुन्छौँ– महासंघ


काठमाडौं, भदौ २५ ।  उपत्यकामा सार्वजनिक गाडी चल्न थाले पनि लामो दूरीका गाडी भने यो महिनाभर चल्ने छैनन् ।

सरकारले असोज १ गतेसम्म लामो दूरीका गाडी नचलाउने निर्णय गरेको छ । तर यातायात व्यवसायीले भने जतिसक्दो छिटो लामो दूरीका गाडी चलाउन सरकारसँग माग गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भन्नुभयो –‘हामी अधिकतम जनस्वास्थ्यका मापदण्ड पालना गर्न तयार छौँ, पूर्वाधार विकास गरेर लामो दूरीका गाडी पनि अब चलाउन आग्रह गर्छौँ, गाडी चलाउने निर्णय नआए, स्वतस्फूर्त रुपमा आफैँ गाडी चलाउन बाध्य हुन्छौँ।’

सरकारको निर्णय पालना गर्दै ६ महिनासम्म लामो दूरीका सार्वजनिक बसलाई थन्काएर राखे पनि अब नसक्ने उहाँले बताउनुभयो । बस चलाउन नपाउँदा बैंकको किस्ता तिर्न नसकेको र गाडी बिग्रनुका साथै यातायात क्षेत्रका मजदुरलाई बिहान बेलुकाको छाक टार्न नै समस्या भएको उहाँले बताउनुभयो ।

लामो दूरीका सार्वजनिक चलाउन माग गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, तीनवटा मजदुर संगठनको टोलीले हिजो यातायात व्यवस्था विभागका महानिर्देशकको ध्यानाकर्षण समेत गराएका छन् । सरकारले चैत ११ देखि लकडाउन घोषणा गरेयता लामो दूरीका सार्वजनिक बस चलेका छैनन् ।