जनता टाइम्स

२५ भाद्र २०७७, बिहीबार १२:१९

झापाको कनकाईमा एकै परिवारका ११ जनामा कोरोना संक्रमण


झापा, भदौ २५

कनकाई नगरपालिकाको एक घरका सबै ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो समय समुदायमा फैलिएको कोरोना कनकाईमा नगरपालिका ३ को एक घरमा घरका सबै सदस्य ११ जनामानै कोरोना संक्रमण फैलिएको हो । एक्कै घरमा यत्रो सङ्ख्यामा कोरोना भेटिएको सम्भवत झापामै पहिलो घटना भएको कनकाई नगरपालिका कोरोना सूचना तथा संचार समितिका सदस्य लक्ष्मी अधिकारीले बताउनुभयो ।

सो घरमा १४ बर्षको नातीदेखि ८४ बर्षकी हजुरआमासम्मलाई कोरोना पुष्टि भएको छ । घरमा सबैलाई कोरोना संक्रमण लागेपछि कनकाई नगरपालिकाले घरमै खाद्यान्न र अस्पतालमा रहेका लागि आवश्यक सामाग्री प्रदान गरेको छ । उक्त घरमा मात्रै नभएर कनकाई ३ को गाउँमा नै कोरोना संक्रमण फैलिएको छ ।

कनकाई नगरपालिकामा हालसम्म ४८ जनामा कोरोना संक्रमण देखिसकेको छ भने हालपनि पछिल्लोचोटी दुई दिनसम्म लगिएको स्वाबको रिर्पोट आउन बाँकी छ । हाल कनकाई नगरपालिकाको सबै स्वाब कोटीहोमस्थित पिसीआर मेशिनमा चेक गरिएको कारण रिर्पोट आउन ढिलाई भएको हो । कनकाईमै चेक गरेपनि त्यसलाई पुनः चेकका लागि स्वाब धरान पनि पठाउनुपर्ने हुँदा परीक्षणको रिर्पोट आउन ढिलाई भइरहेको कनकाई नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

रिर्पोट आउन ढिलाई भएपनि स्वाब लिइएकाहरुलाई घरमै सुरक्षित राखिएको स्वास्थ्य साखाले जनाएको छ । यता नगरमा कोरोना संक्रमण फैलिएर घर परिवारका सदस्यहरु खानेकुरा लगायात खरिदका लागि बाहिर जान नपाएपछि कनकाई नगरपालिकाले त्यस्ता परिवारका लागि घरघरमै खाद्यान्न लगायातका अत्यावसकिय सामाग्री पुर्याइदिदैँ आएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउँनुभयो । (गोरखापत्र)