जनता टाइम्स

२५ भाद्र २०७७, बिहीबार १८:३०

उर्जामन्त्री बर्षमान बन्नुभयो एक नम्बर मिडियामैत्री नेता


काठमाडौं भदौ २५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा उर्जामन्त्री बर्षमान पुन मिडियाका लागि सवैभन्दा प्रिय नेताका रुपमा स्थापित हुनुभएको छ । हरेकजसो मन्त्रिपरिषद बैठकमा सूचना दिँदै आउनु भएका मन्त्री पुनले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले स्थायी कमिटी बैठकका लागि तयार पारी अध्ययनका लागि पठाउनु भएको दस्तावेज नै उपलब्ध गराएर मिडियामैत्री नेताका रुपमा स्थापित हुनुभएको हो ।

नेकपा स्रोतका अनुसार अध्यक्षद्वयको प्रतिवेदन सार्वजनिक भएपछि गोप्य सुत्र लगाएर बुझ्दा पुनले नै पठाएको पाइएको छ । दस्तावेज सार्वजनिक भएपछि दुवै अध्यक्षको सचिवालयले समेत गोप्य रुपमा अनुसन्धान गर्दा एउटै नाम आएको स्रोतले बतायो । ‘बर्षमान कमरेड सवैभन्दा बढी मिडियामैत्री बन्नुभएछ,’ स्रोतले भन्यो । नेकपाको स्थायी कमिटी बैठक शुक्रवार बस्दैछ । सो बैठकका लागि बिवाद समाधान कार्यदलले दिएको सुझावका आधारमा अध्यक्षद्वय ओली र प्रचण्डले बुधवार मात्रै साझा प्रस्तावलाई अन्तिम रुप दिई अध्ययनका लागि स्थायी कमिटी सदस्यलाई पठाइएको थियो । तर स्थायी कमिटीका कतिपय सदस्यले मेलमा प्रस्ताव आएको जानकारी नपाउँदै पुनले भने आफू निकट पाँच पत्रकारलाई पठाएर सार्वजनिक गरिदिनु भएको नेकपा स्रोतले जनताटाइम्सलाई बतायो ।

उर्जामन्त्री समेत रहनुभएका नेता पुनले मन्त्रिपरिषद बैठक चलिरहेकै बेला कतिपय सूचना सार्वजनिक गर्ने गरेको आरोप यसअिघ नै लागिसकेको छ । यस्को खुलासा नेपाल बिद्युत प्राधिकरणका कार्यकारी दिर्नेशक कुलमान घिसिङको नियुक्ति प्रकरणबाट भएको हो । घिसिङकै नाममा रहेको आइडीबाट नियुक्तिको पुष्टि भएको भन्दै कतिपय अनलाइनले समाचार लेखेपछि मन्त्रिपरिषद बैठक जारी रहेकै बेला उहाँ निकट केही अनलाइनमा मन्त्रीको भनाई उधृत गर्दै कुलमानको नियुक्तिको बिषयमा मन्त्रिपरिषदमा प्रस्ताव नै नगएको समाचार सार्वजनिक भएको थियो ।