जनता टाइम्स

२६ भाद्र २०७७, शुक्रबार १९:०६

प्रधानमन्त्री ओलीको घोषणा : नेकपा फुटाउने देशी–विदेशी प्रतिक्रियावादी शक्तिको प्रयास बिफल भयो


काठमाडौं, भदौ २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपालाई कमजोर बनाएर तोडफोड गर्ने देशी–विदेशी प्रतिक्रियावादी शक्तिको प्रयास बिफल भएको घोषणा गर्नुभएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठकमा यस्तो घोषणा गर्नुभएको हो । नेकपालाई कमजोर बनाएर मुलुक नै बर्वाद पार्ने देशीविदेशी प्रतिक्रियावादी शक्तिको अनेकन प्रयासलाई सवै नेता कार्यकर्ता मिलेर असफल बनाएको उहाँको निश्कर्ष थियो । आजको बैठकमा सुरुमै आफ्नो धारणा राख्नेक्रममा प्रधानमन्त्री ओलीले सवैको भावनाअनुसार सहमति बनेको र यही भावनाअनुसार अघि बढने जानकारी गराउनु भएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिनुभयो ।

प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा ओलीले स्थायी कमिटी बैठकले पार्टीभित्रको समस्या र अन्तरविरोधलाई समाधान दिएको बताउनु भयो । ‘यो बैठकले पार्टीभित्रको समस्या र अन्तरविरोधलाई समाधान दिएको छ, नयाँ उचाइको एकता र संकल्पसहित सकारात्मक ढंगले निकाश निकाल्ने विश्वास छ, देशी-विदेशी प्रतिक्रियावादी शक्तिले पार्टीलाई कमजोर बनाउन र तोडफोड गर्न जो चाहाना राखेका थिए, त्यो असफल बनाउन बैठक सफल भएको छ । बैठक सम्पन्न हुनु नै उनीहरुलाई सटिक जवाफ हो,’ बैठकमा प्रधानमन्त्री ओलीको भनाई उधृत गर्दै प्रवक्ता श्रेष्ठले भन्नुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको स्थायी कमिटी बैठकले अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल, प्रचण्डको तर्फबाट प्रस्तुत प्रस्तावलाई सर्वसम्मत रुपमा पारित गर्दै सम्पन्न भएको छ । सो निर्णयसँगै आगामी चैत २५ देखि ३० गतेसम्म एकता महाधिवेशन हुने भएको छ । यस्तै बैठकले कात्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय कमिटीको बैठक बोलाउने तथा एमसीसी नेपालको हितमा अधिकतम परिमार्जन गर्दै अनुमोदन गर्ने निर्णय पनि गरेको छ ।

यो पनि पढनोस

अध्यक्षद्वयको प्रस्ताव पारित गर्दै सकियो नेकपा स्थायी कमिटी बैठक : तीन महिनापछि यसरी मिल्यो बिवाद