जनता टाइम्स

१४ जेष्ठ २०७६, मंगलवार १८:५१

खानेपानी मन्त्री मगरको सह्रानीय काम : दुई मन्त्रालयमा स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान


काठमाडौं, जेठ १४

खानेपानी मन्त्रालयले छैटौं अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसरमा महिलाहरुले प्रयोग गर्ने स्यानिटरी प्याड भेन्डिङ मेसिनको सुरुवात गरेको छ । सिंहदरवारस्थित मन्त्रालयको भवनबाटै सो कामको सुरुवात गरिएको हो ।

खानेपानी मन्त्री बिना मगरले महिलाहरुलाई महिनावारीको समयमा समस्या नपरोस् भन्ने उद्देश्यले मन्त्रालयको भवनमा स्यानिटरी प्याड भेन्डिङ मेसिनको सुरुवात गर्नुभएको हो । दुई रुपैंयाको सिक्का हालेपछि उक्त मेसिनबाट प्याड आफैं निस्कने गर्दछ । मन्त्रालयमा कार्यरत महिला कर्मचारीहरु र काम विशेषले आउने जो कोही महिलाहरुले समेत उक्त प्याड प्रयोग गर्न सक्नेछन् ।

मन्त्रालयको महिला शौचालयमा प्याड मेसिन जडान गरिएको छ । मेसिनको शुरुवात गर्दै मन्त्री मगरले यस्तो प्रविधिको मेसिन विभिन्न सार्वजनिक महिला शौचालयहरुमा राख्दै लगिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो त हामीले सुरुवात मात्र गरेका हौं । महिनावारी हुने समयमा महिलाहरुलाई समस्या पर्ने गर्दछ । अझ सार्वजनिक महिला शौचालयहरुमा यस्तो मेसिन राख्न पाइयो भने महिलाहरुलाई धेरै सहज हुने गर्छ । हामी विस्तारै अन्य ठाउँहरुमा राख्दै जानेछौं ।’

मन्त्रालयले महिला तथा बालबालिका मन्त्रालयको भवनमा समेत स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान गरेको छ । त्यस्तै खानेपानी तथा ढल व्यवस्थापन विभागले पहिलो चरणमा सातै प्रदेशको नौ वटा ठाउँहरुमा महिला तथा अपाङ मैत्री स्मार्ट शौचालय बनाउने तयारी समेत गरेको छ । यी स्मार्ट शौचालयहरुमा स्यानिटरी प्याड भेन्डिङ मेसिन समेत जडान गरिने विभागकी उपमहानिर्देशक मीना श्रेष्ठले जानकारी दिनुभयो ।