जनता टाइम्स

१४ जेष्ठ २०७६, मंगलवार २०:१२

समृद्ध नेपाल निर्माणमा खेलकुदको महत्वपुर्ण भुमिका : प्रचण्ड


काठमाडौं, जेठ १४

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य पूरा गर्न खेलकुद क्षेत्रले महत्वपुर्ण भुमिका खेल्ने बताउनु भएको छ ।

नेपाल वादोरियो कराते संघले आयोजना गरेको चौथो अन्तर्राष्ट्रिय वादोरियो कराँते प्रतियोगिताको शुभारम्भ गर्दैै अध्यक्ष प्रचण्डले खेलकुद क्षेत्रले मुलुकमा समृद्धि ल्याउने बताउनु भयो । ‘देशको पहिचानलाई अन्तर्राष्ट्रिय क्षेत्रमा लैजान खेलकुदले सहयोग पुगेको छ,’ अध्यक्ष प्रचण्डले भन्नुभयो । उहाँले आफू गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री भएपछि खेलकुद क्षेत्रलाई महत्वपुर्ण ध्यान दिएर अगाडि बढाएको उल्लेख गर्नुभयो ।

युवा जनशक्तिमा सभ्यता र अनुशासन सिकाउन खेलकुदले सहयोग पुग्ने उहाँको भनाइ थियो । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगत बिश्वकर्माले खेलाडीको मनोबल उच्च राख्न सरकारले महत्वपुर्ण योजना अगाडि ल्याएको बताउनु भयो । सरकार खेल र खेलाडीलाई प्रोत्साहन गर्न लागिरहेको उहाँको भनाइ थियो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशव विष्टले परिषद्ले नेपाली खेललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । नेपाली खेलको विकासका लागि परिषद् लागिरहेको उहाँको भनाइ थियो .

कार्यक्रममा संघीय सांसद दिव्यमणि राजभण्डारीले देशमा देखिएको अन्यौलको अन्त्यका लागि सरकारले विशेष भूमिका खेल्नुपर्ने बताउनु भयो । ‘देशको विकासका लागि सबै राजनीतिक दल मिलेर अगाडि बढ्नुपर्छ,’ राजभण्डारीको भनाई थियो । कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँर, महासचिव सरोज सिटौलाले यातायात क्षेत्रलाई सरकारले विशेष सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

काठमाडौँ खेलकुद विकास समितिका अध्यक्ष ध्रुव न्यौपानेले खेलकुद क्षेत्रमा लागेका खेलाडीलाई राज्यले सम्मान गर्नुपर्ने बताउनु भयो । नेपाल वादोरियो कराते संघका अध्यक्ष हरिशरण केसीले देश र विदेशमा नेपालको कराते क्षेत्रलाई चिनाउन नेपाल वादोरियो कराते संघले महत्वपुर्ण भुमिका खेल्दै आएको बताउनु भयो । आजबाट सुरु भएको प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का, जापानलगायतका ३ सय खेलाडीको सहभागिता रहेको छ । रासस