जनता टाइम्स

२९ भाद्र २०७७, सोमबार ०८:०४

इश्वर पोखरेलको निश्कर्ष : महाधिवेशनले परिवर्तनको वेगलाई गतिवान भएर सामना गर्ने नेतृत्व निर्माण गर्नेछ


काठमाडौं, भदौ २९ । उपप्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं इश्वर पोखरेलले नेकपाको आगामी महाधिवेशनले परिवर्तनको वेगलाई गतिवान भएर सामना गर्ने नेतृत्व निर्माण गर्ने विश्वास ब्यक्त गर्नुभएको छ । स्थायी कमिटी बैठकपछि पार्टी एकताको भावना अनुसार लयमा फर्किएको खुशीयालीमा उपप्रधानमन्त्री पोखरेलले महाधिवेशनबाट परिवर्तन आत्मसात गर्ने नेतृत्व आउने अपेक्षा व्यक्त गर्नुभएको हो । सामाजिक सञ्जालमा एकता जिन्दावाद भन्दै उपप्रधानमन्त्री पोखरेलले भन्नुभएको छ ‘विचार, विधि र नेतृत्वमा उन्नतस्तरको एकता ज़िन्दावाद !!’

यस्तो छ पोखरेलको बिचार

नेकपाले झन्झावातसित जुद्धै हालै आफ्नो स्थायी कमिटीको बैठक सफलताका साथ सम्पन्न गरेको छ । चुनौती थिए-चुनौती देखिएका थिए, तर उन्नस्तरको एकताको भावना र त्यस अनुरूपको प्रयत्न निर्णायक रह्यो ! यो एकताको कुरा गरिरहँदा आफैभित्र छरपस्ट देखिएका कमजोरीहरू लुकाउन खोजिएको होइन । तर सगर्व उद्घोष गर्नैपर्छ-तिनै कमजोरीहरूको टाउकोमा टेकेर एकताको उद्घोष गरिएको हो ।

त्यसैले यो मूल्यवान छ, जसको रक्षा गर्न/गरिरहन संकल्पवद्ध हुनैपर्छ । महाधिवेशन गर्ने औपचारिक घोषणा गरिएकोछ । प्रष्ट हुनैपर्छ-यो राष्ट्रिय मञ्चले थप उचाइमा पुगेर विचारलाई स्थापित गर्नेछ, परिवर्तित सन्दर्भमा विधि निर्माण गर्नेछ र चलाकीका साथ परिवर्तनको ‘लिप सर्विस’ वा ‘लकिर का फकिर’ नभई परिवर्तनको वेगलाई गतिवान भएर सामना गर्ने नेतृत्व निर्माण गर्नेछ । त्यसैको लागि नेपाल कम्युनिष्ट पार्टीभित्रको एकता अपरिहार्य छ ! एकता जिन्दावाद !!