जनता टाइम्स

२९ भाद्र २०७७, सोमबार १२:२३

डोटीमा निषेधाज्ञा खुकुलो


डोटी, भदौ २९

डोटीमा आजदेखि लागू हुनेगरी निषेधाज्ञा खुकुलो पारिएको छ। बिहानदेखि बेलुकासम्म उद्योग ,बजार, व्यवसाय सञ्चालन हुने भएका छन्। हिजो डोटीमा बसेको संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गरेको हो। ‘सोमबारबाट बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म स्वास्थ सजकता अपनाएर उद्योग ,ब्यापार ,व्यवसाय सञ्चालन गर्ने निर्णय भएको छ,’ प्रमुख जिल्ला अधिकारी भिम प्रसाद भट्टराईले भन्नुभयो, ‘यातायातका साधानमा सिट क्षमता भन्दा ५० प्रतिसत कम यात्रु बोक्न पाइने र अटोरिक्सामा दुई भन्दा बढी यात्रु नबोक्न पाइने निर्णय भएको छ।’

जिल्लामा भिडभाड, गोष्ठि, धार्मीक मेला, महोत्सव गर्न भने बन्देज लगाइएको प्रमुख जिल्ला अधिकारि भट्टराईले बताउनुभयो । सार्वजनिक स्थलमा जादा, यात्रा गर्दा र पसलमा सामान किन्दा अनिवार्य माक्सका साथै सामाजिक दुरि कायम गर्नुपर्ने छ । बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्मको अवधिमा भने निषेध आदेश गरिएको उहाँले सुनाउनुभयो । त्यस्तै अर्को व्यवस्था नभएसम्म शैक्षिक संस्था, भाषा कक्षा, ट्युसन सेन्टर, प्रशिक्षण केन्द्र सञ्चालन नगर्ने, धार्मिक कार्य, मेला महोत्सव नगर्ने र मनोरञ्जनात्मक कार्य नपाइने बिज्ञप्तीमा उल्लेख छ ।

यस्तै सैलुन पसल, जिमखाना, समूहमा खेलिने खेल, ब्युटिपार्लर, पुस्तकालय सञ्चालन गर्ने, धार्मिक स्थलहरुमा नित्य पूजाबाहेक मेला पर्व लगाउन नपाइने, सामूहिक भोजभतेर गर्न नपाइने स्थानीय प्रशासनको विप्तिमा उल्लेख छ । जिल्लामा पहिलो चरणमा भाद्र १४ गते देखि २१ गते सम्म निषेधाज्ञा जारी गरिएकोमा २१ देखी २८ गते राती १२ बजे सम्मका लागि थप गरिएको थियो ।