जनता टाइम्स

१४ जेष्ठ २०७६, मंगलवार २०:४२

नेकपा खोटाङ जिल्ला कमिटीका सदस्यले लिए शपथ


खोटाङ, जेठ १४

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी खोटाङका सदस्यहरुको शपथग्रहण सम्पन्न भएको छ । पार्टी एकता टुंग्याउने क्रममा पुर्वमाओबादीले अध्यक्ष र पुर्वएमालेले सचिव पाएको यस जिल्लामा १३७ सदस्यीय जिल्ला कमिटीलाई पूर्णता दिएसँगै मंगलबार सपथग्रहण गराइएको हो ।

जिल्ला समन्वय समितिको समिक्षालय हलमा आयोजित कार्यक्रममा नेकपा प्रदेश १ का प्रदेश इन्चार्ज भीम आचार्यले जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई शपथग्रहण गराउनु भयो । देवान किराती ‘पृथ्बी’ अध्यक्ष र बबी चामलीङ सचिव रहेको नेकपाको जिल्ला कमिटिमा पुर्वएमालेबाट ७९ जना र पुर्वमाओबादीबाट ५८ जना समेटिएका छन् । सपथग्रहणका लागि दुई वटा नगरपालिका र आठ गाउँपालिकाका नेकपा नेता दिक्तेल भेला भएका हुन ।

नेतृत्वका लागि अन्य नेताबीचमा हानाथाप चलिरहेकाबेला पुर्वमाओबादीका किरातीले अध्यक्ष र पुर्वएमालेका नेता चाम्लिङले सचिवको जिम्मेवारी पाउनु भएको थियो । किराती र चाम्लिङ नेकपाको प्रदेश १ का सदस्यसमेत हुन ।