जनता टाइम्स

१५ जेष्ठ २०७६, बुधबार ०७:३१

आज चौथो मानार्थ विद्यावारिधि उपाधि ग्रहण गर्दै प्रधानमन्त्री ओली


काठमाडौं, जेठ १५

गणतन्त्र दिवस कार्यक्रमको व्यस्तताबीच प्रधानमन्त्री केपी शर्मा ओलीले आज दक्षिण कोरियाली विश्वविद्यालयको ‘मानार्थ विद्यावारिधि’ उपाधि ग्रहण गर्नुहुने भएको छ । नेपाली सेनाको सानो भर्‍याङस्थित स्वास्थ्य विज्ञान संस्थानमा आयोजना हुने कार्यक्रममा दक्षिण कोरियाको काङनाम युनिभर्सिटीले प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति ओलीलाई मानार्थ उपाधि प्रदान गर्न लागेको हो ।

कार्यक्रममा सहभागी हुन काङनाम युनिभर्सिटीका प्रेसिडेन्ट सिनिल युन र त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाँले संयुक्त रूपमा आमन्त्रण गर्नुभएको छ । प्रेसिडेन्ट युनले युनिभर्सिटीका तर्फबाट ओलीलाई उपाधि प्रदान गर्नेछन् । ओलीले ग्रहण गर्न लाग्नुभएको यो चौथो मानार्थ विद्यावारिधि उपाधि हो । यसअघि सन् २०१० मा मध्य अमेरिकाको बेलिजमा रहेको भनिएको र काठमाडौं शंखमूलमा सम्पर्क कार्यालय रहेको ग्रिनफोर्ड इन्टरनेसनल युनिभर्सिटीले ओलीलाई राजनीतिशास्त्रमा मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको थियो ।

ओलीलाई पहिलो पटक प्रधानमन्त्री हुँदा भारतमा मानार्थ विद्यावारिधि प्रदान गर्दै सम्मान गरिएको थियो । भारतको तीनदिने राजकीय भ्रमणमा रहेका बेला उत्तराखण्डको डा गोविन्द बल्लभ कृषि तथा प्रविधि विश्वविद्यालयले उपाधि प्रदान गरेको हो । त्यस्तै मध्य अमेरिकी मुलुक कोस्टारिकाको युनिभर्सिटी फर पिस (शान्ति विश्वविद्यालय) ले ओलीलाई नेपालमा शान्ति तथा लोकतन्त्र प्राप्तिका लागि पुर्‍याएको योगदानको कदर गर्दै मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको थियो ।