जनता टाइम्स

९ आश्विन २०७७, शुक्रबार ०८:२७

महामारीले उब्जाएको सङ्कटको घडीमा मानिसलाई गरिब हुनबाट रोक्नु नै मुख्य चुनौती : प्रधानमन्त्री


काठमाडौं, असोज ९  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले गरिबी नै मुख्य चुनौती भएको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले कोरोनाको महामारीले उब्जाएको सङ्कटको घडीमा मानिसलाई गरिब हुनबाट रोक्नु नै मुख्य चुनौती भएको बताउनुभएको हो । राष्ट्रसङ्घको ७५ औं साधारण सभामा ‘गरिबी चौबाटोमा स् भविष्यलाई सुन्दर बनाउन नेतृत्व र बहु(आयामिक गरिबी सूचकाङ्कको प्रयोग’ विषयक बैठकमा उहाँले स्वास्थ्य र आर्थिक सङ्कटका बीच नागरिकमा लगानी गर्नु र उनीहरूलाई पुनः गरिब बन्नबाट रोक्नु एउटा महत्वपूर्ण चुनौती हुने बताउनुभयो ।

‘दिगो विकासको एजेन्डा २०३० प्राप्त गर्न अब एक दशक मात्र बाँकी रहेका बेला सिर्जना भएको यस्तो चुनौतीमा गरिबी न्यूनीकरण गर्न गरिएको प्रगति र समग्र विकास प्रयासहरूको मूल्याङ्कन गर्ने प्राथमिक सूचक हुनुपर्छ, बैठकमा उहाँले भन्नुभयो ।

गरिबीलाई बहु(आयामिक समस्याका रुपमा हेर्ने नेपालको दृष्टिकोणलाई जोड दिँदै नेपालको संविधानले बहुपक्षीय गरिबीका धेरै सूचकलाई नागरिकको मौलिक हकका रूपमा समावेश गरेको पनि प्रधानमन्त्रीको भनाइ छ । कोरोना महामारीले पूर्ण गरिबी अन्त्य गर्न र चाँडोभन्दा चाँडो गरिबीका अन्य सबै रूपलाई कम गर्न भइरहेको प्रयासमा गम्भीर असर पारेको पनि उहाँले बताउनुभयो ।