जनता टाइम्स

१३ आश्विन २०७७, मंगलवार १२:०१

बलात्कारका घटना : ११ देखि १६ वर्षका बालिका बढी पीडित


काठमाडौं, असोज १३

नेपालमा अहिले बलात्कारीलाई मृत्युदण्डको सजाय हुनुपर्छ भनेर आवाज उठ्न थालेको छ । संघीय संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दलका महिला सांसदले कानुन निर्माणका लागि अध्ययन गर्न ९ सदस्यीय कार्यदल समेत गठन गरेका छन् ।

महिला सांसदहरुले कम्तीमा पनि बालिकालाई बलात्कार गरेर हत्या गर्नेलाई मृत्युदण्डको सजाय दिनुपर्ने माग उठाएका छन् । सडक र विभिन्न बहसमा पनि मृत्युदण्डको आवाज बुलन्द भईरहेको छ । कतिपयले मृत्युदण्डले मात्रै समस्याको समाधान नहुने भन्दै छिमेकी मुलुक भारतको उदाहरण समेत दिने गरेका छन् ।

प्रहरीको तथ्यांक हेर्ने हो भने बलात्कारबाट सबैभन्दा बढि ११ देखि १६ वर्षका बालिका पीडित हुने गरेको देखिएको छ । कुल घटनामध्ये ४० प्रतिशत यिनै उमेर समूहका बालिका छन् । उमेर समूहअनुसार कुल घटनामा १३ प्रतिशत १० वर्षमुनिका नाबालिका पीडित भएको प्रहरी मुख्यालयको तथ्यांक छ । प्रहरीमा दर्ता भएका घटना विश्लेषणअनुसार १९ देखि २५ वर्षका युवती १७ प्रतिशत, २६ देखि ३५ वर्षका १२ प्रतिशत, ३६ देखि ४५ वर्षका ४ प्रतिशत र ४६ वर्षदेखि माथिका ४ प्रतिशत महिला पीडित भएको देखिन्छ ।

पीडक (आरोपित–अभियुक्त) १९ देखि २५ वर्ष उमेरका बढी देखिन्छन् । कुल संख्याको ३९ प्रतिशत यही उमेर समूहकाको संलग्नता रहेको प्रहरी अध्ययनले देखाएको छ । घटना दर्ताअनुसार २६ देखि ३५ वर्ष उमेरका २५ प्रतिशतको संलग्नता देखिएको छ । घटनामा संलग्न आरोपितमध्ये ४६ वर्षदेखि माथिका १०, ३४ देखि ४५ वर्षका १३ र ११ देखि १६ वर्षका ६ प्रतिशत, १७ देखि १८ वर्षका ६ प्रतिशत छन् ।