जनता टाइम्स

१४ आश्विन २०७७, बुधबार २१:१९

कात्तिक ७ देखि क्लिनफिड लागू गर्ने प्रधानमन्त्री ओलीको घोषणा


काठमाडौं, असोज १४

प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कात्तिक ७ गतेदेखि कानूनबमोजिम विज्ञापनरहित प्रसारण सेवा (क्लिनफिड) लागू हुने बताउनुभएको छ । नवगठित मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकार नेतृत्वको टोलीलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा बधाई दिँदै प्रधानमन्त्री ओलीले कानूनको पालनामा सरकार पछि नहट्ने स्पष्ट गर्नुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री ओलीले सूचनाको हकसम्बन्धी कानून अफवाहको चक्रव्यूह सिर्जना गर्न नभएको स्पष्ट गर्दै पारस्परिक सहयोगका साथ अघि बढ्न पनि आह्वान गर्नुभयो ।
प्रधानमन्त्री प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले पत्रकारको भौतिक सुरक्षाको सरकारले शतप्रतिशत सुनिश्चितता गर्ने र अन्य क्षेत्रमा सम्भव भएसम्मका सहयोग, सुरक्षा र संरक्षण हुने पनि बताउनुभएको थियो ।