काठमाडौं, असोज १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठनको गृहकार्य अन्तिम चरणमा पुर्याउनु भएको छ । प्रधानमन्त्री ओलीले स्थायी कमिटीको निर्णय, सचिवालयमा प्राप्त सुझाव र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डसँग परामर्शअनुसार मन्त्रिपरिषदमा रिक्त सदस्यसहित ६ जना मन्त्री थप गर्ने गरी गृहकार्य अन्तिम चरणमा पुर्याउनु भएको हो ।
बालुवाटार निकट स्रोतले जनताटाइम्सलाई दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीले हालका सवै मन्त्रीलाई यथावत राखेर अर्थ, सञ्चार तथा सूचना प्रविधि र शहरी बिकाश मन्त्रालयमा तीन र अन्य केही मन्त्रालय बिभाजन गरी ६ जना मन्त्रीलाई थप गरी मन्त्रिपरिषद पुनर्गठनको योजना बनाउनु भएको हो ।
‘कार्यकारी अध्यक्षले सवै मन्त्रीलाई फिर्ता बोलाएर आवश्यक परे फेरि लैजाऊँ भन्नुभयो, प्रधानमन्त्रीले त्यो संभव छैन, ६ जना मात्रै थप गरौं भन्नुभएको छ, त्यसैअनुसार गृहकार्य अघि बढेको छ,’ प्रधानमन्त्री ओली निकट नेकपा स्थायी कमिटीका एक सदस्यले जनताटाइम्ससँग भने । ती सदस्यका अनुसार प्रधानमन्त्री ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटीमा रहेका काम गर्न अब्बल नेताहरुलाई मन्त्री बनाउन चाहनुभएको छ । सोहीअनुसार कार्यकारी अध्यक्षसँग सुझाव लिनुभएको छ । अन्य नेताहरुसँग पनि परामर्श गर्नुभएको छ । मन्त्रिपरिषद पुनर्गठन हुँदा नेकपाका महासचिव बिष्णु पौडेल अर्थमन्त्री बन्ने लगभग निश्चित जस्तै भएको छ ।
पूर्वअर्थमन्त्री समेत रहनुभएका पौडेललाई नै ल्याउने गरी प्रधानमन्त्रीले योजना बनाउनु भएको स्रोतले बतायो । तात्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिनुभएपछि भदौ २० गतेदेखि अर्थसहित सञ्चार र शहरी बिकाश मन्त्रालय प्रधानमन्त्री आफैले राख्नुभएको छ । त्यसो त महासचिव पौडेलले महाधिवेशनसम्म पार्टीमै काम गर्ने चाहना राखिसक्नु भएको छ ।
यस्तो अवस्थामा भने प्रधानमन्त्री ओलीले आफूलाई सहज हुने अन्य नेतालाई सो मन्त्रालयको जिम्म दिनुहुनेछ । पुनर्गठनमा सञ्चार मन्त्रालय सम्हाल्न सक्ने युवा नेताको खोजी पनि प्रधानमन्त्रीले गरिरहनु भएको स्रोतले बतायो ।
प्रधानमन्त्रीको चाहना परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र पर्यटनमन्त्री योगेश भट्टराई रहे पनि दुवै मन्त्री सो मन्त्रालयमा जान अनिच्छुक रहेकोले नयाँको खोजी भइरहेको हो ।
प्रतिक्रिया दिनुहोस्