जनता टाइम्स

१६ आश्विन २०७७, शुक्रबार १०:३५

बामदेवको मुद्दामा आज २ घण्टा ४० मिनेट मात्र बहस हुने


काठमाडौं, असोज १६

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा गरेको मनोनयन विरूद्ध परेको रिटमा आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ।

सर्वोच्च अदालतले जारी गरेको पेशी सूचीमा गौतमको मुद्दा संवैधानिक इजलासको पहिलो नम्बरमा राखिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको इजलासमा यो मुद्दाको सुनुवाइ हुनेछ ।

आजको इजलासमा सरकारी वकिलले ४० मिनेट आफ्नोतर्फबाट बहस गर्नेछन् । यसअघि बुधबारको इजलासमा दुई घण्टा समय दिएकोमा ८० मिनेट धारणा राखिसकेका छन् । सरकारी वकिलले धारणा राखेपछि बाँकी दुई घण्टा गौतम पक्षका वकिलले बहस गर्नेछन् । त्यसपछि सर्वोच्च अदालतले यो मुद्दाको अन्तिम टुङ्गो लागुन्जेल गौतमलाई राष्ट्रिय सभा सदस्यको रूपमा काम गर्न दिने वा नदिने भन्नेबारे आदेश दिनेछ । यसअघि बुधबार रिट निवेदकका तर्फबाट वकिलहरुले बहस गरेका थिए ।

गौतमलाई मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेपछि त्यस विरूद्ध अधिवक्ता बद्रीराज भट्ट र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दुई छुट्टाछुट्टै रिट हाल्नु भएको थियो ।

रिटमा तीन वर्षअघिको प्रतिनिधि सभा चुनावमा पराजित गौतमलाई प्रतिनिधि सभाको त्यही कार्यकालभित्र संघीय संसदको सदस्य बनाउन नहुने माग गरिएको छ । सत्तारूढ नेकपाले गौतमलाई राष्ट्रिय सभा सदस्य र त्यसपछि मन्त्री बनाउने तयारी गरेपछि उनलाई अहिले मन्त्री समेत बनाउन संविधानले नदिने तर्क रिट निवेदकहरूले गरेका छन्।