जनता टाइम्स

१६ आश्विन २०७७, शुक्रबार १९:१५

गण्डकी प्रदेशका ८५ प्रतिशत गाउँमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा


पोखरा, असोज १६ । नेपाल टेलिकमले गण्डकी प्रदेशका ८५ प्रतिशत स्थानीय तहमा चौथो पुस्ताको मोवाइल र इन्टरनेट सेवा (फोरजी) बिस्तार गरेको छ । सेवा बिस्तारको क्रममा टेलिकमले आज गोरखाको माथिल्लो भेगको बारपाक–सुलिकोट गाउँपालिकाको क्षेत्रमा सेवा बिस्तार गरेको हो ।

मोवाइल सेवा नै नपुगेको ठाउँमा टेलिकमले उच्चगतिको इन्टरनेट सुविधासहितको सेवा बिस्तार गरेपछि स्थानीयवासी निकै खुसी भएका छन । गोरखाको बारपाक–सुलिकोट गाउँपालिका–३ स्थित रातमाटेमा बिटिएस राखेर आसपासका गाउँमा सेवा दिनेगरी चौथो पुस्ताको फोरजी सेवा बिस्तार गरेको टेलिकम पोखरा कार्यालयका प्रमुख नरेन्द्रमान सिंह महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार यो सेवाले अब उपल्लो भेगमा सञ्चार पहुँचमा सहज हुनेछ । ‘सबै ठाउँमा सहज इन्टनरेट र फोन सेवा उपलब्ध गराउने प्रयासमा लागिरहँदा यो सेवा बिस्तार गरिएको हो,’ महर्जनले भन्नुभयो ।

महर्जनका अनुसार गण्डकी प्रदेशका करिब ८५ प्रतिशत स्थानीय तहमा फोरजी सेवा बिस्तार भईसकेको छ । अब गोरखा, मनाङलगायतका जिल्लाको उपल्लो भेगमा मात्र यो सेवा पुग्न बाँकी रहेका उहाँको भनाई छ । महर्जनका अनुसार आगामी मंसिरसम्म गण्डकीका सबै स्थानीय तहमा फोरजी सेवा बिस्तार हुनेछ । आज सेवा पुगेको गोरखाको यी गाउँ र आसपासका क्षेत्रमा यसअघि कुनैपनि कम्पनीको मोवाइल सेवा थिएन । सो गाउँमा नेपाल टेलिकम नै पहिलो भएको छ ।

जिल्ला सदरमुकामबाट करिब ४५ किलोमिटर टाढाको यस गाउँमा फोरजीसँगै गाउँलेलाई निशुल्क सिमकार्ड पनि वितरण गरिएको टेलिकम पोखराका बिक्री प्रमुख दिनेशमणि लामिछानेले बताउनु भयो । फोरजीमा द्रुतगतिको इन्टरनेट सेवा प्रदान गर्छ । सेवा बिस्तारसँगै यहाँ ३ सय सिमकार्ड पनि वितरण गरिएको छ । सिमकार्डमा १० रुपैयाँको कल भ्यालु, ६० एमबी डाटा र ६० मिनेटसम्म निशुल्क कुरा गर्न पाउने सेवा पनि छ । महर्जन र बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले यो सेवाको शुभारम्भ गर्नुभएको थियो ।