जनता टाइम्स

१८ आश्विन २०७७, आईतवार १५:१२

पीडितको समस्यामा गम्भीर बने मन्त्री गुरुङ : सामाजिक सुरक्षाभत्ता तत्काल दिने व्यवस्था मिलाउन लेखे पत्र


काठमाडौं, असोज १८ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले एकल महिला, अपांगता भएका व्यक्तिलगायतले पाउँदै आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने व्यवस्था तत्काल मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ ।

गत चैत्रदेखि एकल महिला र अति अशक्त अपांगता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता कटौति भएको पाइएपछि महिला, बालबालिका तथा ज्येष्ठना गरिक मन्त्रालयले त्यसलाई निरन्तरता दिने गरी तत्काल व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको हो ।

‘आर्थिक वर्ष २०७७/७८ को बजेट बक्तव्यमा समेत हालसम्म दिईंदै आएका सबै प्रकारका सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने भन्ने उल्लेख भएकाले सबै प्रकारका सामाजिक सुरक्षा भत्ताको निरन्तरताहुने व्यवस्था’ मिलाउन सो मन्त्रालयलाई पत्राचार गरिएको पत्रमा उल्लेख गरिएको छ । गत चैत्रदेखि एकल र अति अशक्त अपांगता भएका व्यक्ति/वर्गको सामाजिक सुरक्षा भत्ता कटौति भएको भनि राष्ट्रिय अपांग महासंघ–नेपालले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा निवेदन दिएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरिएको हो । यस अघि गृह मन्त्रायलाई पनि सोही व्यहोराको पत्राचार गरिएको थियो ।

यसैबीच, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले एकल महिला, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायतका संवेदनशील वर्ग र समूदायले यसअघि पाउँदै आएका सामाजिक सुरक्षा भत्ता कटौति हुनन दिने दृढता व्यक्त गर्नु भएको छ । उहाँले केही समययता ती भत्ताहरु रोकिएको भनिए पनि त्यसलाई निरन्तरता दिन आवश्यक पहल कदमी लिइएको पनि स्पष्ट पार्नुभयो ।