जनता टाइम्स

१८ आश्विन २०७७, आईतवार २१:१८

मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा ढुंगा हान्नेमा पत्रकार पनि संलग्न रहेको खुलासा, यसरी खुल्यो पोल


बुटवल, असोज १८ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा ढुंगा हान्नेमा पत्रकारको पनि संलग्नता रहेको पाइएको छ । मुख्यमन्त्री पोखरेल सवार गाडीमा ढुंगा हानिरहेको अवस्थामा पक्राउ परेकामध्ये एक जना पत्रकार रहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा पत्रकार कमला पाण्डेसहित नेविसंघ केन्द्रीय उपाध्यक्ष मुक्ति पौडेल, कांग्रेस नेताहरु बिष्णु पोखरेल, हरिलाल पाण्डे, शिव गैरे, प्रकाश गैरे, ज्ञानेन्द्रबहादुर कार्की रहेका छन । पत्रकार पाण्डे रेडियो नेपालको बुटवल सम्वाददातासमेत हुन । रेडियो नमस्तेकी स्टेशन म्यानेजर समेत रहेकी पत्रकार पाण्डेलाई अन्य प्रदर्शनकारी जस्तै हातमा ढुंगामाटो लागेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

 मुख्यमन्त्री पोखरेलमाथि आज साँझ चौराहमा आक्रमण भएको थियो ।  मुख्यमन्त्री पोखरेल भैरहवाबाट बुटवल जाने क्रममा राजमार्ग चौराह नजिकै ढुंगा प्रहार भएको हो । प्रहरीले घटनास्थलबाट उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले ढुंगा बुटवलको राजमार्ग चौराह (तालिम केन्द्र मोड) मा ढुंगा प्रहार हुदा प्रहरीले स्थितिलाई नियन्त्रण लिन हवाई फायर गरेको थियो । ‘ढुंगा प्रहार गर्ने ९ जनालाई पक्राउ गरेका छौं,’ प्रदेश ५ का प्रहरी प्रमुख डिआईजि रबिन्द्र धानुकले भन्नुभयो । उहाँले घटनामा संलग्नहरुमाथि कानूनी कार्वाही अघि बढने जानकारी पनि दिनुभयो ।