काठमाडौं, असोज २० । मिडिया र सामाजिक सञ्जालमा निकै चर्चाको बिषय बनेको मन्त्रिपरिषद पुनर्गठनको बिषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक मौन बसेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकमा मिडियाले चर्चामा ल्याएको मन्त्रिपरिषद पुनर्गठनको बिषयमा एउटा शब्द पनि उच्चारण नगरी मौन बसेको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठले जनताटाइम्सलाई दिनुभएको जानकारीअनुसार आजको बैठकमा मन्त्रिपरिषद पुनर्गठनको एजेण्डाले प्रवेश नै पाएन । मन्त्रिपरिषद पुनर्गठनको बिषयमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा कुनै प्रकारको जानकारी गराउनु भएको छैन । ‘आजको सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठनको बिषयमा कुनै छलफल भएन, अध्यक्ष तथा प्रधानमन्त्रीले पनि यसबारेमा कुनै जानकारी गराउनु भएन,’ प्रवक्ता श्रेष्ठले भन्नुभयो ।
उहाँले स्थायी कमिटीको निर्णय कार्यान्वयन र मन्त्रिपरिषद पुनर्गठनको बिषयमा दुई अध्यक्ष गृहकार्यकै चरणमा रहेकोले जानकारी नगराउनु भएको बताउनु भयो । ‘दुई अध्यक्षले गृहकार्य गरिरहेको हुनसक्छ, त्यसैकारण आजको बैठकमा मन्त्रिपरिषद पुनर्गठनको बिषयले प्रवेश नै पाएन, जानकारी पनि गराइएन,’ श्रेष्ठको भनाई थियो । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डसहित सचिवालयका नेताहरुले समेत यस बिषयमा कुरा नउठाएको श्रेष्ठको भनाई छ ।
प्रवक्ता श्रेष्ठका अनुसार आजको बैठकमा संबैधानिक राजनीतिक नियुक्ति मापदण्डको बिषयमा छलफल र सुझाव राख्ने काम भएको छ । ‘छलफल जारी छ, छिट्टै अध्यक्षद्वय कमरेडहरुले सवै एजेण्डामा छलफल गरेर निश्कर्षमा पुग्ने गरी सचिवालयको अर्काे बैठक बोलाउनु हुन्छ,’ प्रवक्ता श्रेष्ठले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्