फिनल्याण्ड, असोज २२
फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिन देशको सबैभन्दा युवा प्रधानमन्त्री हुनुहुन्छ । तर भर्खर मात्रै उहाँले प्रधानमन्त्रीको पद एक दिनका लागि १६ वर्षीया एक किशोरीलाई सुम्पिनुभएको छ । सन्ना मरिनले किशोरीहरुको आवाज बुलन्द गर्नको लागि यस्तो कदम उठाउनुभएको हो ।
किशोरीहरुको अधिकारलाई बढावा दिनका लागि सन्ना मरिनले दक्षिण फिनल्याण्डको वास्कीमा रहने १६ वर्षीया किशोरी आभा मुर्टोलाई एक दिनको लागि प्रधानमन्त्रीको कुर्सी सुम्पिनुभएको हो । प्रधानमन्त्रीको पद पाएपछि आभाले यो दिन आफ्नो लागि निकै रोमाञ्चक दिन भएको बताउनुभयो ।
सञ्चारमाध्यमसँग भेटघाट, चान्सलरसँग बैठक
आभाले देशको प्रधानमन्त्री बन्दाको क्षण निकै खास भएको बताउनुभएको थियो । प्रधानमन्त्रीको रुपमा उहाँले न्यायका चान्सलरसँग बैठक पनि गर्नुभएको थियो भने यसक्रममा उहाँले सञ्चारमाध्मयसँग कुराकानी पनि गर्नुभएको थियो । आभाले जलवायु परिवर्तन र मानव अधिकारसँग जोडिएका मुद्दाको सक्रिय रुपमा प्रचारप्रसार गर्दै आउनुभएको छ ।
उहाँलाई गर्ल्स टेकओभर नामक अभियानमार्फत एक दिनका लागि प्रधानमन्त्री बनाइएको हो । यो अभियानको मुख्य उद्देश्य किशोरीहरुको डिजिटल क्षमता निखार्न र अवसरको बारेमा जानकारी दिनु हो । गत वर्ष विश्व आर्थिक मञ्चको विश्वव्यापी लैङ्गिक असमानतासम्बन्धी प्रतिवेदनमा फिनल्याण्ड तेस्रो भएको थियो ।
तथापि प्रविधिको क्षेत्रमा प्रतिनिधित्वको हिसाबले महिला अझै तल छन् । गत वर्ष ३४ वर्षको उमेरमा शपथ ग्रहण गर्नुभएको मरिया विश्वकै कम उमेरको प्रधानमन्त्री बन्नुभएको थियो । उहाँ फिनल्याण्डकी तेस्रो महिला प्रधानमन्त्री हुनुहुन्छ । उहाँले नेतृत्व गरेको मध्य–वामपन्थी गठबन्धनमा चारवटा दल छन् । ती सबै दलको नेतृत्व महिलाले गरेका छन् र तीमध्ये तीन जना ३५ वर्षभन्दा कम उमेरका छन् ।
प्रतिक्रिया दिनुहोस्