जनता टाइम्स

२३ आश्विन २०७७, शुक्रबार १८:१६

राखेपमा हरि खड्कासहित ११ सदस्य नियुक्त, कुन प्रदेशबाट को परे ?


काठमाडौं, असोज २३ । सरकारले राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्कासहित ११ जनालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्यमा नियुक्त छ । सदस्य सचिव र उपाध्यक्ष नियुक्त गरेको दुई महिनापछि सरकारले ११ जना सदस्य नियुक्त भएका हुन् ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले यसअघि ६ जनालाई मनोनित गर्नुभएको थियो । बाँकी सदस्य बिहीवार मनोनीत गरिएको हो । जसअनुसार हरि खड्का (प्रदेश १) सहित मानदेव हजारा (प्रदेश २), राजेश गुरुङ (गण्डकी), पुरेन्द्र बिक्रम  लाखे (बागमती), मोहम्मद शेख (प्रदेश २), नन्दा बस्याल (कर्णाली), एकेन्द्र कुँवर (सुदूरपश्चिम), चन्द्रा बन्दना राई (प्रदेश १) र सुमित्रा चौधरी (लुम्बिनी) लाई नियुक्त गरेको मन्त्रालयले जनाएको छ । गुरुङ र कुँवर यसअघि पनि राखेप सदस्यमा रहनुभएको थियो ।

यसैगरी राखेपका दर्ता राष्ट्रिय संघहरुको सिफारिसमा मनोननित गर्न पाउने व्यवस्था अनुसार मन्त्री जगत विश्वकर्माले नेपाल रिङ रेस्लिङ संघकी महासचिव रहनुभएकी लतिलपुरकी शुवर्ण श्रेष्ठ र रेणुका श्रेष्ठलाई मनोनित गर्नुभएको छ । संघहरुको सिफारिसमा जम्मा ५ जना सदस्य अध्यक्षले नियुक्त गर्न पाउने मनोनयनमा महिला कोटाबाट बाँकी २ जनाको नियुक्त गरिएको हो । ३७ सदस्य बोर्डमा अन्य सदस्य भने पदेन रहने व्यवस्था छ ।

असार १८ गते लागु भएको राष्ट्रिय खेलकुद विकास ऐन अनुसार नयाँ सदस्यहरु नियुक्त गरिएको हो । जसमा खेलकुदको विकासमा महत्पवूर्ण योगदान गरेका प्रतिष्ठित व्यक्ति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु मध्य सबै प्रदेशसहित महिला, दलित, आदिवासी जनजाती, खसआर्य, मधेसी, थारु, मुस्मि पिछडिएको क्षेत्रबाट समेतबाट प्रतिनिधित्व हुने गरी कम्तीमा तीन महिलासहित सरकारले मनोनित गर्ने व्यवस्था छ । मनोनयन हुनेका कम्तीमा ५० प्रतिशत सदस्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु मध्यबाट हुनुपर्ने ऐनमा ब्यवस्था छ ।

अब राखेप ७ सदस्य कार्यकारी समितिले पनि पूर्णता पाउनेछ । जसमा अहिले ४ जना रहेका छन् । ३ जना भने बोर्डबाट चुनिनेछन् । साउन १२ गते सरकारले शिव कोइरालालाई उपाध्यक्ष र रमेशकुमार सिलवाललाई सदस्य सचिव नियुक्त गरेको थियो । मन्त्री विश्वकर्माले साउन १५ गते रिम रानाभाट, इन्दिरा निरौला, अर्जुनबहादुर केसी, सम्पन्न श्रेष्ठ, सुबास श्रेष्ठ र गोविन्द्र भट्टराईलाई राखेप बोर्ड सदस्यमा मनोनित गर्नुभएको थियो ।