लण्डन, असोज २५
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वशिक्षामन्त्री डा. गङ्गालाल तुलाधारले कोभिड–१९ विरुद्ध सरकारी तयारीमा कमी रहेको टिप्पणी गर्नुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) द्वारा आयोजित दोस्रो विश्व ज्ञान सम्मेलनमा उहाँले भन्नुभयो, ‘सरकार होपलेस देखियो । पूर्वतयारी र न्यूनीकरणको खासै काम भएन । सरकारसँग स्रोत पनि केही पनि छैन भन्नुपर्ने भो ।’
शनिबार सम्पन्न ‘महामारी र प्राकृतिक विपद् न्यूनीकरणका लागि पूर्वतयारी र न्यूनीकरण’ सत्रमा विपद् व्यवस्थापन विज्ञ समेत रहेका उनले विपद् व्यवस्थापन तीनवटै तहका सरकारको साझा अधिकार भए पनि समन्वय नै हुन नसक्दा कोरोनाबाट हालसम्म ६०० जनाको ज्यान गएको र सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको बताउनुभयो । उहाँले संविधानले कल्पना गरेको संरचनालाई बेवास्ता गरी सिसिएमसी बनाइँदा अहिले यो अवस्था आइलागेको जनाउनुभयो ।
‘विपद् र महामारी नियन्त्रणका लागि तीनवटै सरकारका भूमिकाबारे संविधान मै स्पष्ट छ’ उहाँले भन्नुभयो । पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले काठमाडौँमा सघन उपचार कक्ष पाउन नसकिने अवस्था आइलागेको बताउनुभयो। ‘अब काठमाडौँमा कोभिड, ननकोभिड कसैले पनि सघन उपचार कक्ष पाउनेवाला छैनन्’, उहाँले थप्नुभयो, ‘जाडो आउँदैछ, शितलहर, भोकमरीको सामना गर्नुपर्ने अवस्था छ ।’
पूर्वस्वास्थ्य सचिव डा. सुधा शर्माले राजनीतिक नेतृत्वले महामारी नियन्त्रणको नेतृत्व लिँदा सफल नभएको आरोप लगाउनुभयो । लकडाउनको दुई महिना र लकडाउन पश्चातका दुई महिनामा कोभिड–१९ विरुद्ध तयारीका उल्लेखनीय काम हुन नसकेको बताउनुभयो । एनआरएनएका आइसिसी उपाध्यक्ष डा. बद्री केसीले एनआरएनलेले विपद्मा सहयोग गर्दै आएको बताउनुभयो । एनआरएनएका स्वास्थ्य समिति संयोजक डा. सञ्जीव सापकोटाले पूर्वतयारी विना महामारी नियन्त्रणको काम गर्न नसकिँने बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्