जनता टाइम्स

२६ आश्विन २०७७, सोमबार १३:११

राजस्व अनुसन्धानको एक्सन : पौन २ अर्ब मुद्रा अपचलन गर्नेविरुद्ध कैद र तीन गुणा जरिवाना माग्दै मुद्धा दायर


काठमाडौं, असोज २६

राजस्व अनुसन्धान विभागले भन्सार छलेर आयात गरेका सामानको भुक्तानीका लागि झण्डै पौने दुई अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा देश बाहिर पठाउने हाइटेक इन्टरनेशनल प्रालिका सञ्चालक हरिकुमार श्रेष्ठ विरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले २२ असोजमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । श्रेष्ठ विरुद्ध विभागले गैर कानूनी रुपमा रु. १ अर्ब ७१ करोड ५६ लाख बराबरको विदेशी मुद्रा विदेश पठाई विदेशी विनिमय अपचलन गरेको आरोप लगाएको छ । उनीसँग यो बिगो असुल गरी यसको तीन गुणासम्म जरिवाना र तीन वर्ष कैद सजाय समेत मागदाबी गरिएको छ।

हाइटेक इन्टरनेशनलले भन्सार विन्दुबाट चोरी पैठारी गरेर ल्याएको सामानको यथार्थ कारोबार नदेखाएको तर छुट्टै लेजरमा अभिलेख राखेको भेटिएको विभागले जनाएको छ। यो कम्पनीले यस्तो चोरीको सामग्रीको कारोबारमा राजस्व चुहावटका अतिरिक्त रकम भुक्तानीका लागि ब्यांकिङ प्रणालीको सट्टा हुण्डीको प्रयोगबाट रकम पठाएको भेटिएको थियो।

यसैगरी विभागले झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक प्रयोग गरी राजस्व छल्ने ललितपुर, महालक्ष्मी नगरपालिका-१ स्थित मनिष ट्रेडिङ कन्सर्नका किशोरी यादवसहित तीन जनाविरुद्ध पनि रु. १३ करोड २६ लाख बिगो असुल गरी जरिवाना र कैद मागदावी सहित अदालतमा मुद्दा दायर गरेको छ। यो कम्पनीले गरीब व्यक्तिको नाममा फर्म दर्ता गरी छुट्टै वस्तु र सेवाको आयात तथा खरीद गरी अर्कै वस्तुको झुट्टा र नक्कली बिल बिजक जारी गरी राजस्व छलेको भेटिएको थियो।

विभागले झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक प्रयोग गरी रु.९ करोड ९६ लाख राजस्व छल्ने बाराको रामपुरस्थित साहारा एण्ड खातुन ट्रेडर्स विरुद्ध पनि मुद्दा दायर गरेको छ । उक्त ट्रेडर्सका प्रोप्राइटर कविरन खातुन विरुद्ध विभागले बिगो असुल गरी जरिवाना र कैद माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।