जनता टाइम्स

२६ आश्विन २०७७, सोमबार १४:२९

आईपीएलका खेलमा सट्टेबाजी गर्ने गिरोह काठमाडौंबाट पक्राउ


काठमाडौं, असोज २६

यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)का खेलमा काठमाडौं बसेर अवैध सट्टेबाज गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । सट्टेबाजीमै संलग्‍न आरोपमा महानगरीय प्रहरी वृत्त कालीमाटीले तीन भारतीयसहित ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत घर भई कमलपोखरीस्थित होटल कोनार्क इनमा डेरा गरी बस्दै आएका कुलदीप शारण, भारतकै सन्जीव शारण, सिन्धुपाल्चोकका प्रदीप घिमिरे, भारत कानपुर घर भई कुलेश्‍वर बस्दै आएका अजय गौतम, काठमाडौं कुलेश्‍वरका उत्तम सापकोटा र काठमाडौं सोल्टीमोडका अनिलकुमार बंसल छन् ।

उनीहरुको साथबाट मोबाइल, मोटरसाइकल, स्कुटर र एक लाख ८५ हजार १ सय २० रुपैयाँ बरामद भएको छ । सट्टेबाजीमा लगाएबापत् कमिसन लिने गरेको र खाता भारतमा सक्रिय रहेको खुलेको छ । नेपालमा ठुल्ठूला व्यापारिक घरानाका व्यक्तिले समेत आईपीएल सट्टेबाजीमा रकम लगानी गर्ने गरेका छन् ।