जनता टाइम्स

२६ आश्विन २०७७, सोमबार २१:१८

कर्णाली बिवादबारे आयो प्रधानमन्त्रीको कठोर प्रतिक्रिया


काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले कर्णाली प्रदेशमा भएको पार्टीको पछिल्लो बिवादबारे कठोर प्रतिक्रिया दिनुभएको छ ।

आफ्नै सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबिरुद्ध पार्टी संसदीय दलमा दर्ता गरिएको अबिश्वासको प्रस्तावबारे आफ्नो प्रतिक्रिया दिनुभएको हो । एक मन्त्रीले जनताटाइम्सलाई दिएको जानकारी अनुसार बैठकको सुरुमै प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशसभा संसदीय दलमा भएको बिवादको बिषयमा आफ्नो भनाई राख्नुभएको थियो । उहाँले आफू र अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डलाई समेत जानकारी नदिई मुख्यमन्त्रीबिरुद्ध संसदीय दलमा अबिश्वासको प्रस्ताव दर्ता गर्ने काम भएको भन्दै राजनीतिक अराजकताको संज्ञा दिनुभयो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध हिजो आइतवार नेकपाकै १८ जना सांसदहरुले संसदीय दलमा अबिश्वासको प्रस्ताव दर्ता गराएका थिए । सो प्रस्तावपछि दलका नेता शाहीले आज प्रमुख सचेतक गुलावजंग शाहलाई बर्खास्त गर्नुभएको छ । सोही बिषयमा मन्त्रिपरिषद बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले जताततै राजनीतिक अराजकता देखिएको उल्लेख गर्नुभएको ती मन्त्रीले बताए । प्रधानमन्त्री ओलीले पार्टीको निर्णयअनुसार काम गर्न मन्त्रीसहित सबैलाई आग्रह गर्नुभएको ती मन्त्रीको भनाई छ ।

‘राजनीतिक अराजकता बढेको छ, आफूखुशी काम गर्ने अभ्याश भइरहेको छ । म प्रधानमन्त्री र पार्टी अध्यक्ष हुँ । तर, कर्णालीको विषमा मलाई केही सोधिएन, अर्का अध्यक्षलाई पनि सोधिएनछ,’ प्रधानमन्त्री ओलीको भनाई उधृत गर्दै ती मन्त्रीले जनताटाइम्ससँग भने, ‘किन यस्तो भयो भनेर सोध्दा माथि तपाईहरुबाटै सिकेको हो, हिजो माथि भएको थियो, आज तल अभ्याश गरियो भन्ने जवाफ दिन्छन, यो राजनीतिक अराजकता हो, यस्तो काम सोधेर मात्रै गर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले कर्णालीमा भएको घटनाले निकै गम्भीर बनाएको पनि बताउनु भएको छ ।  कर्णालीमा नेकपाको बिवाद चरम बिन्दुमा पुगेर वारपारको अवस्था आएपछि आज नेकपाका अध्यक्षद्वय ओली र प्ष्पकमल दाहाल, प्रचण्डले छलफल गर्नुभएको थियो यो विषयमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले समेत अनभिज्ञता राख्नुभएको छ ।