जनता टाइम्स

२७ आश्विन २०७७, मंगलवार १३:०४

बुढीगण्डकीबारे भट्टराईले तीन दिनमै कुरा फेरे


काठमाडौं, असोज २७

पूर्वप्रधानमन्त्री एंव जनता समाजवादी पार्टी (जसपा)का नेता डा. बाबुराम भट्टराईले तीन दिनमै कुरा फेर्नु भएको छ । बुढीगण्डकी आयोजनाका विषयमा नौ अर्ब रुपैयाँ भ्रष्टचार भएको र त्यसलाई प्रमाणित गर्न आफुले सक्ने घोषणा गर्नुभएको थियो ।

उहाले बोलेको सो विषय एकाएक सञ्चारमाध्यममा सार्वजनिक भएपछि भट्टराईलाई प्रमाण किन लुकाएको भन्दै सोधिखोजी हुन थाल्यो । उहाले गोरखा पुगेर भन्नु भएको थियो, ‘लाख र करोडको कुरा छौडौं, अर्बौ अर्बौको लुट भईरहेका छन् । बुढीगण्डकी मलाई थाहा छ, मेरो पालामा शुरु गरिएको बुढीगण्डकी कमिशनको खेलमा नौ अर्ब रुपैयाँ केपी ओली, शेरबहादुर देउवा, प्रचण्ड मलाई थाहा छ यो कुरो । प्रमाणित गर भने भनि प्रमाणित पनि गर्न सक्छु म यो कुरो । उहाहरुले बाँडेर खानु भएको छ । बुढीगण्डकी अलपत्र परेर बसेको छ ।’

बुढीगण्डकीका विषयमा उहाले यो कुरा बोल्नु भएको थियो । तर, जनताको ताली खाने बोलेको कुरालाई उहाले तीन दिनमै परिवर्तन गरी छानबिन गर्न माग गर्नुभएको छ । कुनै विषयको प्रमाण भए छानबिन गर्नै पर्दैन । प्रमाणका आधारमा दोषीलाई कानुनी कारवाहीको कठघरामा ल्याउन कुनै आइतबार कुर्नुपर्दैन । तर, उहाले हावाको तालमा आफुसँग प्रमाण रहेको घोषणा गर्नुभएको उहाकै अर्को भनाईले पुष्टि गरेको छ ।

पर्सामा सोमबार आयोजित कार्यक्रममा उहाले यो विषयलाई छानबिनमा लैजानुपर्ने बताउनु भयो । ‘भ्रष्टाचारबारे मैले बाहिर बोलेपछि प्रमाण देखाउन भन्दैछन् । बुढीगण्डकी, एनसेल, वाइडबडीमा अर्बौंको घोटाला भएको छ,’ उनले भने, ‘अधिकार सम्पन्न आयोग गठन गरेर छानबिन होस्, यदि बाबुराम दोषी छ भने कारबाही भोग्न तयार छ, के तपाईंहरु तयार हुनुहुन्छ रुु सो कार्यक्रममा भने उहाले आफुसँग प्रमाण रहेको वा प्रमाणित गर्छु भनेर कही पनि भन्नु भएन । आरोप र प्रमाण बेग्लाबेग्लै कुरा हुन् ।

राजनीतिक रुपमा आरोप त जसले जसलाई पनि लगाउन सक्छ तर पूर्वप्रधानमन्त्री जस्तो मान्छेले प्रमाणित गरिदिनसक्छु भनेर जनतालाई दिग्भ्रमित पार्नु आफैमा अपराध हो । कानुनले पनि प्रमाण लुकाउनेलाई दोषी मान्छ । यस्तो अवस्थामा पूर्वप्रधानमन्त्री भट्टराईले सो प्रमाण जनतासामु सार्वजनिक गर्नु नै पर्छ ।