जनता टाइम्स

१६ जेष्ठ २०७६, बिहीबार १७:४२

मौसम पूर्वानुमान : शनिवारसम्म मेघ गर्जनसहित बर्षा


काठमाडौं, जेठ १६

पूर्वमा बनेको न्यून चापीय रेखा र स्थानीय वायुको प्रभावले आगमी तीन दिनसम्म काठमाडौं उपत्यकासहित देशभर आंशिक तथा सामान्य बदली हुनुका साथै मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हिजोदेखि पूर्वी क्षेत्रमा बनेको कमजोर न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले बदलीसँगै हल्का तथा मध्यम खालको वर्षा हुने महाशाखाका मौसमविद् मञ्जु बासीले बताउनुभयो । उक्त प्रणालीको प्रभाव आगमी शनिबारसम्म रहने बताइएको छ ।

राति देशको पूर्वी क्षेत्र तथा मध्य र पश्चिमी पहाडी क्षेत्रमा सामान्य बदली रही बाँकी भागमा मौसम केही सफा भएपनि देशको पूर्वी भागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको उक्त महाशाखाले जनाएको छ । भोलि शुक्रवार देशको पूर्वी तथा मध्य भागमा आंशिकदेखि सामान्य बदली रहनाका साथै पश्चिमी पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । शनिबार देशको पूर्वी भागमा सामान्य बदली हुने र बाँकी भागमा आंशिक बदली हुनेछ ।

त्यस्तै पूर्वी तथा मध्य भागका केही स्थान र पश्चिमी पहाडी भेगका थोरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १६ दशमलव ५ डिग्री र अधिकतम तापक्रम ३१ दशमलव ३ डिग्री सेल्सियस पुगेकोे छ । आज धनगढीको अधिकमत तापक्रम ४० दशमलव ८ डिग्री सेल्सियस पुगेको छ ।