जनता टाइम्स

१६ जेष्ठ २०७६, बिहीबार १७:५१

मुख्यमन्त्री गुरुङको सुझाव : अव प्रहरीको कार्यशैली बदल्नु पर्छ


पोखरा, जेठ १६

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बहुदलीय व्यवस्थामा सबैभन्दा बढी राजनीतिकीकरण भएको नेपाल प्रहरीको कार्यशैलीमा परिवर्तत गर्न जरुरी रहेको बताउनु भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हाताभित्र निर्मित व्यायामशालाको आज उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले सो भनाई राख्नुभएको हो ।

उहाँले सम्पूर्ण पुरानो संरचना भत्काएर संघीय शासन प्रणालीसहित नयाँ व्यवस्था, संरचनामा संस्थालाई ल्याउनुका साथै प्रहरीको कार्यशैलीमा सुधार हुनुपर्ने बताउनु भयो । ‘व्यवस्था, संरचना र संस्था बदलियो, अब नेपाल प्रहरीको कार्यशैली पनि बदल्नुपर्छ, अबको हाम्रो दायित्व भनेको राजनीतिकीकरण, पार्टीकरण र मन्त्रीकरणबाट प्रहरीलाई सुधार्नु हो,’ मुख्यमन्त्री सुब्बाले भन्नुभयो । चारवटै सुरक्षा निकायलाई बदलिएको परिस्थितिअनुसार लोकतान्त्रिकीकीरण, व्यावसायिकीकरण र साधन–स्रोतयुक्त बनाउनु पर्नै मुख्यमन्त्री गुरुङको भनाई थियो ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्यद्वय कृष्णबहादुर थापा, राजीव पहारी, प्रजिअ चक्रबहादुर बुढा, प्रहरी उपरीक्षक ओमबहादुर राना, नायब प्रहरी उपरीक्षक रवीन्द्रमान गुरुङ, व्यायामशाला निर्माण समितिका अध्यक्ष गौतम थापालगायतले समुदाय प्रहरी साझेदारीबाट मात्र समाजमा शान्तिसुरक्षा र अमनचयन कायम हुने बताउनु भयो ।

विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरुबाट सङ्कलित १३ लाख ५० हजार रुपैयाको लागतमा सो व्यायामशाला निर्माण गरी जिल्ला प्रहरीलाई हस्तान्तण गरिएको हो । सो अवसरमा व्यायामशाला निर्माणमा आर्थिक सहयोग गर्ने संस्था तथा व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो ।