जनता टाइम्स

२८ आश्विन २०७७, बुधबार ०७:२४

हैदराबादलाई २० रनले हराउँदै आइपीएलमा चेन्नईको तेस्रो जित


काठमाडौ,  असोज २८ । सनराइजर्स हैदराबादलाई २० रनले हराउँदै साविक उपविजेता चेन्नई सुपर किङ्सले आईपीएल टी–ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ ।

दुबईमा मंगलबार राति भएको खेलमा सनराइजर्स हैदराबाद १४७ रनमा समेटियो । चेन्नईले दिएको १६८ रनको विजयी लक्ष्य पच्छ्याएको हैदराबाद पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १४७ रनमा समेटिएसँगै चेन्नईले खेल २० रनले जितेको हो । हैदराबादका लागि केन विलियम्सनले ५७ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

यस्तै जोनी बेयरस्टोले २३ रन जोड्दा प्रियम गार्गले १६ तथा विजय शंकरले १२ रन बनाए । राशिद खान १४ रनमा आउट भए ।

चेन्नईका कर्न शर्मा र ड्रायन ब्राभोले २/२ विकेट लिए । यस्तै साम करन, सार्दुल ठाकुर र रबिन्द्र जडेजाले एकरएक विकेट लिए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।चेन्नईका लागि शेन वाट्सनले सर्वाधिक ४२ रन बनाए । अम्बाती रायडुले ४१ रन जोड्दा साम करनले ३१ रन बनाए ।कप्तान महेन्द्र सिंह धोनी २१ रनमा आउट हुँदा रबिन्द्र जडेजाले अविजित रहदै २५ रन बनाए ।

हैदराबादका सन्दीप शर्मा, खलिल अहमेद र टि नटराजनले २/२ विकेट लिए ।जितसँगै चेन्नईले हैदराबादविरुद्ध पहिलो भेटमा व्यहोरेको हारको बदलासमेत लिएको छ ।यसै सिजनको पहिलो भेटमा चेन्नईलाई हैदराबादले ७ रनले पराजित गरेको थियो ।जितसँगै चेन्नईले ८ खेलमा ६ अंक जोडेको छ । चेन्नई छैठौँ स्थानमा समेत उक्लिएको छ । हैदराबाद ८ खेलमा ६ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।