जनता टाइम्स

२९ आश्विन २०७७, बिहीबार १६:५०

पदबहालीमै सञ्चारमन्त्री गुरुङले सुनाए कठोर बटमलाइन


काठमाडौं, असोज २९ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सकारात्मक सोचका साथ सकारात्मक परिणामका लागि आफूले दृढतापुर्वक काम अघि बढाउने अठोट गर्नुभएको छ ।

सञ्चार मन्त्रालयलमा आज पदबहालीपछि कर्मचारीलाई निर्देशन दिँदै मन्त्री गुरुङले बिगतका राम्रा कामलाई निरन्तरता र कमीकमजोरीलाई सुधार गरी सवैलाई साथ लिएर सकारात्मक परिणामका लागि दृढतापुर्वक अघि बढने बताउनुभएको हो । ‘झुटो कुरा र दायित्वअनुसारको काम नगर्ने कुराप्रति म अत्यन्तै निर्मम छु, यो मेरो स्वभाव हो, अलमल्याएर, बांगोटिंगो बाटो लिनुभयो भने तपाईहरु र मेरो सम्बन्ध नमिठो हुनसक्छ, अलमल्याउने र बांगोटिंगो बाटो लिने कुराप्रति मेरो सधै निगरानी हुन्छ, चाँडो बुझ्नु पनि,’ कर्मचारीलाई निर्देशन दिनेक्रममा मन्त्री गुरुङले भन्नुभयो ।

उहाँले आफू गलत नगर्ने अठोट गर्दै कर्मचारीबाट पनि गलत काम हुन नहुने प्रष्ट बटमलाइन सुनाउनु भयो । ‘म पनि गलत काम गर्दिन, तपाईहरुबाट पनि गलत कुरा भए मलाई सैह्य नहुने मात्रै होइन, क्षम्य पनि हुन्न, तपाईहरु र मबीच आजकै दिन यही सम्झौता भयो, यसलाई दृढताका साथ पालना गरौं र असल परिणाम दिएर देखाऔं,’ मन्त्री गुरुङको भनाई थियो । उहाँले नेपाल पत्रकार महासंघलगायत सञ्चारसँग सम्वद्ध सवै संघ, संस्थासँग निकटको सहकार्य गर्दै सञ्चार क्षेत्रमा देखिएको समस्याको समाधान र बिकृति बिसंगतिको अन्त्य गरी सवैले अनुभुति पाउने गरी काम गर्ने बताउनु भयो ।

‘नेपाल पत्रकार महासंघलगायत सञ्चारसँग सम्वद्ध सवै संघ संस्थासँग नजिकबाट सहकार्य गर्दै सकारात्मक परिणाम ल्याउने काममा लाग्ने छु,’ मन्त्री गुरुङको भनाई थियो । मन्त्री गुरुङले आफू अनुहार होइन, कामको परिणाममा बिश्वास गर्ने भएकोले त्यसैअनुसार जिम्मेवारी पूरा हुने बिश्वास पनि गर्नुभयो । मन्त्री गुरुङले मन्त्रालय सम्बद्ध सबै निकाय तथा विभागीय प्रमुखबाट सकारात्मक भावनाका साथ आफूलाई सहयोग प्राप्त हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

‘सही सूचना पाइयोस, सही काम होस तर सञ्चार तथा सूचना प्रविधिका क्षेत्रमा यो मन्त्रीलाई केही थाहा छैन भनेर गलत सूचना तथा सल्लाह दिई दिग्भ्रमित पार्न खोज्नुभयो भने त्यस्तो काम गर्ने कसैलाई पनि क्षमा गर्न सकिन्न,’ मन्त्री गुरुङले भन्नुभयो । मन्त्री गुरुङले कोभिड –१९ महामारीबाट आक्रान्त यस सङ्कटमय घडीमा गुणस्तरीय इण्टरनेट सेवा दिएर लाखौंँ बालबालिकाको अध्ययनअध्यापनलाई सहज बनाउन ध्यान दिनुपर्ने आवश्यकता पनि औंल्याउनुभयो । उहाँले कसरी डिजिटल नेपाल फ्रेमवर्कलाई सफलताको विन्दुमा पुर्याउन सकिन्छ र हाल अस्तित्वमा रहेनरहेको छुट्याउन कठिन भएको हुलाक सेवालाई पुनर्जीवित तथा अत्याधुनिक बनाउन सकिन्छ भन्नेतर्फ पनि ध्यान जानुपर्ने बताउनुभयो ।

नेपाल सरकारको समृद्ध नेपाल सुखी नेपालीको दृष्टिलाई सञ्चार र सूचना प्रविधिका क्षेत्रबाट कसरी सघाउन सकिन्छ भन्नेतर्फ आफ्नो सम्पूर्ण ध्यान केन्द्रित रहने जानकारी पनि उहाँको दिनुभयो । यसअघि मन्त्री गुरुङले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको कार्यभार सम्हाल्नुभएको थियो । २०७६ मंसीर ५ गते महिला मन्त्रालयमा कार्यभार सम्हाल्नुभएका मन्त्री गुरुङले बुधवार मन्त्रीपरिषद बिस्तार र कार्यबिभाजन हेरफेरसँगै आज सञ्चार मन्त्रालयको कार्यभार सम्हाल्नुभएको हो ।

यसअघि सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले मन्त्रालयसम्बद्ध १८ विभाग र निकायबारे जानकारी प्रस्तुत गर्दै मन्त्रालय परिवारका तर्फबाट नवनियुक्त सञ्चारमन्त्री गुरुङको निकट विगतको अनुभव कार्यदक्षता र स्पष्ट निर्णय गर्ने क्षमताले मन्त्रालयका कार्यसम्पादन गर्न महत्वपूर्ण सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभएको थियो । उहाँले मन्त्रालयका सवै कर्मचारीहरु सरकारले तय गरेको बार्षिक नीति र मन्त्रीको योजना सफल पार्न दृढतापुर्वक लाग्ने प्रतिवद्धता पनि जनाउनु भएको छ ।