जनता टाइम्स

२ कार्तिक २०७७, आईतवार २१:५७

सञ्चारमन्त्रीले राखे मिडियासँग सहकार्यको यस्तो प्रस्ताव


काठमाडौं, कात्तिक ७ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले क्लिड फिडलगायत मिडिया क्षेत्रका समस्याहबारे सरकार गम्भिर रहेको बताउनुभएको छ । मन्त्री पार्वत गुरुङले यही कात्तिक ७ गतेबाट क्लिड फिड लागू गरिने जानकारी पनि दिनुभएको छ ।

नेपाल मिडिया सोसाइटीस“गको एक विशेष अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले क्लिन फिडलगायत मिडिया सम्बन्धि विधेयक, विज्ञापन ऐन लगायत नियमनकारी सबैखाले नीति, विधान र कार्यविधिहरुलाई व्यवस्थित गर्दै लगिने बताउनुभएको हो । मन्त्री गुरुङले समृद्ध नेपाल र सुखी नेपालीको निर्माणमा सरकार र मिडिया हातेमालो गरेर सँगसँगै अघि बढ्नुपर्ने तर मिडियालाई सरकारको सदैव प्रतिपक्ष हो धन्ने धारणा विकास गर्दै लानु सकारात्मक नभएको बताउनुभयो ।

पछिल्लो समय कोरोना महामारीले व्यवसायिक, औद्योगिक र आर्थिक क्षेत्रलाई तहसनहस बनाइरहेको अवस्थामा मिडिया क्षेत्रमा पनि देखा परिरहेका समस्याहरुलाई सहकार्य र सम्झौतामार्फत सरकारले अघि बढाउदै लाने विषयलाई मन्त्री गुरुङले विश्वस्त पार्नुभयो । मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले विज्ञापन ऐन २०७६ लागू भइसकेको अवस्थामा सञ्चार क्षेत्रका नीति तथा नियमहर कार्यान्वयनमा जोड दिइनुपर्ने बताउनुभयो । वर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री सुक्ष्म अध्ययनबाट अघि बढ्ने भएकोले गर्दा पनि आगामी दिनमा सञ्चार क्षेत्रका समस्याहरुलाई समाधान गर्ने विषयमा आफू आशावादी रहेको बताउनुभयो । मिडियालाई सिक्ने र राष्ट्र विकासको लागि माध्यमको रुपमा विकास गर्दै लगिनुपर्ने उहाँको धारणा छ ।

मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले क्लिन फिड लागू गर्ने सरकारको निर्णय स्वागतयोग्य भएको र मुलुकको सार्वभौमसत्ता, स्वाधिनता र स्वतन्त्रताको लागि थप मिडियामैत्री नीतिको आवश्यक रहेको विषयमा जोड दिनुभयो । उहाँले मन्त्रालय लगायत सम्बन्धित सबै पक्षले नीति, निर्माण एवम् संशोधन गर्दा सरोकारवाला पक्षहरुसँग अनिवार्यरुपमा छलफल र सुुझाव लिइनुपर्ने बताउंदै सञ्चार क्षेत्रका समस्याहरुलाई सम्बोधन गरिनुपर्ने बताउनुभयोे । विशेषगरी, सीमा क्षेत्रका नागरिकहरुसम्म नेपाली मिडियाहरु विस्तार गर्न किल्न फिड नीति आवश्यक रहेको उहँको भनाई थियो ।

उहाँले विगतदेखि र कोरोना महामारीको समयमा पनि श्रमजीवी पत्रकारहरुको व्यवस्थापन र न्यूनतम पारिश्रमिक उपलब्ध गराउने विषयमा आफूहरु प्रतिवद्ध रहेको बताउनुभएको थियो । सञ्चार क्षेत्रका समस्या समाधान गर्ने वातावरण निर्माण गर्न सबैले आवश्यक भूमिका खेल्न समेत आग्रह गर्नुभएको छ । सोसाइटीका पूर्वअध्यक्ष कैलाश सिरोहियाले सरकाले अघि बढाएका सकारात्मक कुराको समर्थन र गलत कुराको आलोचना हुंदा सरकारले नकारात्मक रुपमा लिन नहुने सुझाव दिनुभएको थियो ।

सोसाइटीका महासचिव मदन लम्साल, कोषाध्यक्ष निकिता पौडेल लगायत अन्य पदाधिकारीहरुले पनि नवनियुक्त मन्त्री गुरुङलाई बधाई एवम् सफलताको शुभकामना दिदै आगामी दिनमा मिडिया क्षेत्रको समस्याहरुलाई सम्बोधन गर्दै लान ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष सुवास खतिवडा र बानका सचिव कृष्ण न्यौपानेले देशभरका रेडियोहरु रुग्ण अवस्थामा रहेकोप्रति सरकारले ध्यान दिनुपर्ने धारणा राख्नुभएको थियो ।