जनता टाइम्स

६ कार्तिक २०७७, बिहीबार ०९:१५

फोरजी सेवामा किन भयो आश्चर्यजनक बृद्धि ?


काठमाडौं, कात्तिक ६ । पछिल्लो सयम फोरजी प्रयोगकर्ता आश्चर्यजनक रुपमा वृद्धि भएको तथ्यांकले देखाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशित गरेको तथ्यांकले एकै महिना बढे सात लाख प्रयोगकर्ता बढेको देखाएको हो । प्राधिकरणले बढेका फोरजी प्रयोगकर्तामध्ये अधिकांश प्रयोगकर्ता नेपाल टेलिकमका रहेका छन ।

प्राधिकरणका अनुसार केही समययता मासिक औसत १० हजारको हाराहारीमा मात्र फोरजी प्रयोगकर्ता थपिँदै आएकामा गत साउनमा एकैपटक यो सङ्ख्या लाख नाघ्यो । नेपालमा फोरजी सेवा सुरु भएको चार वर्ष पूरा भइसक्दा तुलनात्मक रूपमा कम अर्थात् ५५ लाखभन्दा कम प्रयोगकर्ता मात्र रहेको सन्दर्भमा थपिएको यो सङ्ख्या आश्चर्यजनक हो ।

प्राधिकरणको पछिल्लो उक्त तथ्याङ्कले थपिएका अधिकांश प्रयोगकर्ता नेपाल टेलिकमको भएको देखाउँछ । नेपालमै पहिलोपटक २०७३ पुसमा फोरजी सेवा सुरु गरेको सरकारी कम्पनीको गत असारसम्म मुस्किलले साढे आठ लाख प्रयोगकर्ता थिए । साउनमा एकैपटक सात लाखभन्दा बढी प्रयोगकर्ता थपिएपछि साउनमा टेलिकमका फोरजी प्रयोगकर्ता एकैपटक साढे १५ लाख पुगेको छ । एकैपटक सात लाख प्रयोगकर्ता थपिए पनि निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलको तुलनामा भने यो आधाभन्दा पनि कम हो । साउनसम्म एनसेलका ३७ लाख ६२ हजार फोरजी प्रयोगकर्ता भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।

एकै महिनामा टेलिकमका फोरजी प्रयोगकर्ता आश्चर्यजनकले बढ्नुमा कुनै विशेष कारण भने होइन । चालू आर्थिक वर्ष २०७७÷७८ को सुरुवातसँगै टेलिकमले आफ्नो फोरजी प्रयोगकर्ताको तथ्याङ्क समायोजन गरेर प्राधिकरणमा पेस गर्दा ह्वात्तै बढेको देखिएको मात्र हो । व्यावसायिक रूपमै फोरजी सेवा सुरु भएको लामो समय बितिसक्दा पनि फोरजीको ग्राहक र बजार विस्तार निकै सुस्त भएको तथ्याङ्कसहित गत असोज ४ मा गोरखापत्रमा समाचार प्रकाशन भएको थियो । उक्त समाचारमा कम्पनीबाटै प्राधिकरणबाट तथ्याङ्क उपलब्ध गराउँदा गल्ती हुँदा फोरजी प्रयोगकर्ता सङ्ख्या कम भएको देखिएको उल्लेख थियो । टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारी पनि फोरजी प्रयोगकर्ताको वास्तविक सङ्ख्या पठाउँदा बढेको देखिएको बताउनुहुन्छ ।

अधिकारीका अनुसार टेलिकमसँग फोरजी प्रयोगकर्ताको तीन प्रकारको तथ्याङ्क छ । पहिलो कुनै एकपटक फोरजी प्रयोग गरेका करिब ६७ लाख जति छ भन्ने अनुमान छ । दोस्रो पछिल्लो दुई महिना एक÷दुईपटक चलाउनेको सङ्ख्या करिब ४८ लाख थियो र तेस्रो कुनै एक दिनमा एकपटक चलाउनेको सङ्ख्या सोमबार मात्रै १९ लाखभन्दा बढी देखिन्छ । यही तथ्याङ्क प्राधिकरणमा पठाएका हौँ । नेपाल टेलिकमले देशभैर फोरजी विस्तार गर्ने उद्देश्यसहित करिब २० अर्ब रुपियाँ लगानी गरिसकेको छ । फोरजी÷एलटीई नेटवर्क विस्तारपछि ६५ लाख ग्राहक थप हुने टेलिकमले जनाएको थियो ।

प्राधिकरणको उक्त तथ्याङ्कमा स्मार्ट टेलिकमका एक लाख ८२ हजार फोरजी प्रयोगकर्ता छन् । सेवा विस्तारलाई प्राथमिकतामा राख्न नसकेको स्मार्टका फोरजी ग्राहक भने घटेको देखिन्छ । असारसम्म उक्त कम्पनीका ग्राहक दुई लाख तीन हजार रहेको तथ्याङ्क छ । फोरजी सेवा उपलब्ध गराइरहेका तीनै कम्पनीका गरेर ५४ लाख ९७ हजार मात्र प्रयोगकर्ता छन् ।