जनता टाइम्स

६ कार्तिक २०७७, बिहीबार १७:२७

सरकारले गठन गर्यो बिज्ञापन बोर्ड : शनिवारबाट विज्ञापनरहित ‘क्लिन फिड’ प्रशारण लागू गर्ने घोषणा


काठमाडौं, कात्तिक ६ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कात्तिक ८ गते शनिबारदेखि नेपालमा प्रशारण हुने विदेशी च्यानलहरूमा विज्ञापन रहित क्लिन फिड प्रशारण लागू हुने घोषणा गर्नुभएको छ । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले यस्तो घोषणा गर्नुभएको हो ।

ऐन प्रारम्भ भएको एक वर्षपछि त्यसको कार्यान्वयनमा आउन लागेको हो । सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले आवश्यक कर्मचारीलाई त्यसका लागि प्रशिक्षित पनि गरिसकिएको जानकारी दिनुभयो । ऐनको भावना र मर्मअनुसार त्यसअनुरुप तोकिएको मितिदेखि क्लिनफिड प्रशारण भए नभएको अनुगमन गरिने र नभएको पाइएमा नियमअनुसार कडा कारवाही गरिने मन्त्री गुरुङको भनाई छ ।

विज्ञापन नियमिन गर्ने ऐन २०७६ बमोजिम विज्ञापनरहित (क्लिनफिड) लागु गरिएकाले त्यसमा सहयोग गर्न मन्त्री गुरुङले आव्हान समेत गर्नुभयो । विदेशी विज्ञापनलाई नेपालका सञ्चार माध्यमले नेपालीमा डविङ गरी प्रशारण गर्न नपाउने व्यवस्था ऐनले गरेको छ । यसअघि नेपाली सञ्चार माध्यममा विदेशी विज्ञापन नेपालीमा डविङ गरेर प्रशारण गर्ने प्रचलन थियो ।

सरकारले त्यसबारेमा २०७३ देखि छलफल गर्दैआएको थियो । सरकारले मन्त्रालयका सहसचिव डिल्लीराज शर्माको अध्यक्षतामा सरकारले विज्ञापन बोर्डको पनि गठन गरेको छ । बोर्डले अनुगमनको संस्थागत प्रबन्ध गरिसकेको मन्त्री गुरुङले जानकारी दिनुभयो ।