जनता टाइम्स

८ कार्तिक २०७७, शनिबार १३:२४

धनुषामा कोरोना संक्रमित महिलाको मृत्यु


जनकपुरधाम, कात्तिक ८

कोरोना संक्रमण पुष्टि भएर धनुषामा थप एक जनाको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१ निवासी ६५ वर्षीया महिलाको आज विहान मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । ज्वरो आएर सास लिन कठिनाइ भएपछि महिलालाई शुक्रबार बिहान प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गरिएको थियो ।

उहाँको शुक्रबारै स्वाब लिएर परीक्षण गर्दा राति ८ बजेतिर रिपोर्ट पोजेटिभ आएको निर्देशनालयका निमित्त निर्देशक विजय झाले जानकारी दिनुभयो । उहाँका अनुसार महिलामा उच्च रक्तचाप, मधुमेह र दमसमेत देखिएको थियो । योसँगै धनुषामा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या १९ पुगेको छ ।