काठमाडौं, कात्तिक ८
विश्व प्रसिद्ध एल क्लासिकोमा रियल म्याड्रिडले बार्सिलोनालाई पराजित गरेको छ । नाउ क्याम्पमा भएको खेलमा घरेलु टोलीमाथी रियलले ३–१ को जित निकालेको हो ।
पाहुना टोली रियलले खेलको पाँचौ मिनेटमा नै अग्रता लिएको थियो । युवा मिडफिल्डर फेडे भालभेर्डेले करीम बेन्जेमाको पासलाई पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै गोल गरेका हुन् । सो अग्रता लामो समय टिक्न सकेन । आठौं मिनेटमा युवा विंगर अन्सु फातीले खेल बराबरीमा ल्याए । एल क्लासिकोमा सबैभन्दा कम उमेरमा गोल गर्ने रेकर्ड समेत उनले बनाए । उनि १७ वर्षका खेलाडी हुन् ।
खेलको ६२ औं मिनेटमा रियलले पुनः अग्रता लियो । रियलका कप्तान सर्जियो रामोसलाई बार्सिलोनाका क्लेमेन्ट लेङलेटले पेनाल्टी क्षेत्रभित्र जर्सी तान्दै लडाएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर)को सहायता लिँदै पेनाल्टी दिए । उक्त पेनाल्टीमा रामोसले गोल गरे ।
खेलको ९० औं मिनेटमा रोड्रीगोले दिएको पासमा लुका मोड्रीचले गोल गरे । यस जितसँगै रियल म्याड्रिड अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । रियलको ६ खेलमा १३ अंक छ ।












प्रतिक्रिया दिनुहोस्