जनता टाइम्स

१३ कार्तिक २०७७, बिहीबार १६:५८

र्‍यापर भिटेनले फेरि दिए प्रहरीलाई तनाव


काठमाडौं, कात्तिक १३ । प्रहरी प्रधान कार्यालयले भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न साइबर ब्युरोलाई निर्देशन दिएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) कुवेर कडायतका अनुसार र्‍यापर भिटेनले एक साताअघि युट्युबमा पोस्ट गरेको र्यापको भिडिओमा आपत्तिजनक शब्द प्रयोग भएपछि पक्राउ गरी कारबाही गर्न आज साइबर ब्युरो भोटाहिटीलाई निर्देशनसहित पत्र पठाइएको हो । भिटेनले यसपटक ‘पारा’ शीर्षकमा नयाँ भिडिओ सार्वजनिक गरेका थिए । सो भिडियोमा आपत्तिजनक शब्द रहेको प्रहरीले जनाएको छ । यसअघि पनि भिटेनलाई प्रहरीले आपत्तिजनक शब्द तथा चित्र बोकेको भिडिओ सार्वजनिक गरेको आरोपमा पक्राउ गरेको थियो ।

एक वर्षअघि पनि र्‍यापका विषयमा भिटेन विवादमा परेका थिए । त्यसबेला प्रहरीले पक्राउ गरी उनलाई भिडिओ डिलिट गर्न लगाएको थियो । आइन्दा त्यस्तो शब्द प्रयोग गरेर भिडिओ सार्वजनिक नगर्ने सर्तमा रिहा भएपनि यस बर्ष फेरि आपत्तिजनक शब्दसहितको भिडियो पोष्ट गरेका हुन ।

भिटेनले फेरि आपत्तिजनक शब्द प्रयोग गरी प्रहरीलाई समेत दुर्वचनयुक्त भिडिओ सार्वजनिक गरेपछि कारबाही गर्न निर्देशन दिइएको एसएसपी कडायतले जानकारी दिनुभयो । ‘त्यहाँ प्रयोग भएका शब्द सभ्य समाजले पचाउने खालका छैनन्, प्रहरीलाई मात्र नभएर नेपाली चेलिबेटी तथा समाजलाई असभ्य हुने खालको देखियो,’ प्रहरी प्रवक्ता कडायतले जनताटाइम्ससँग भन्नुभयो ।