जनता टाइम्स

१३ कार्तिक २०७७, बिहीबार १७:३५

यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी दुई दिने तालिम सुरु


काठमाडौं, कात्तिक १३

स्वास्थ्य विधामा कलम चलाइरहेका पत्रकारका लागि दुई दिने तालिम मिडिया एक्सन नेपालले सुरु गरेको छ । आड्रा नेपालसँगको सहकार्यमा आयोजना भएको तालिम आजबाट शुरु भएको हो । कोरोना महामारीका कारण भर्चुअल रुपमा गरिएको तालिममा ४० जना पत्रकारहरु सहभागी हुँदैछन् । यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी विषयमा केन्द्रित रहेर गर्न लागिएको तालिममा ४ समूह हुने र प्रत्येक समूहमा १०/१० जना सहभागी रहने आयोजक संस्था मिडिया एक्सन नेपालका अध्यक्ष डा.लक्ष्मणदत्त पन्तले बताउनुभयो ।

तालिममा यौन तथा प्रजनन स्वास्थ्यसँग जोडिएका विविध पक्षका बारेमा छलफल भएको थियो । आज मिडवाइफ्री सोसाइटीकी अध्यक्ष डा लक्ष्मी तामाङ, आड्रा नेपालको किशोरकिशोरी तथा प्रजनन स्वास्थ्य विज्ञ राधिका घिमिरे र मिडिया एक्सन नेपालका अध्यक्ष एवं सञ्चार विज्ञ पन्तले प्रस्तुती दिनुभएको थियो । छलफलका क्रममा डा. तामाङले यौन तथा प्रजनन स्वास्थ्य महिलाको विषय मात्र नभएर समग्र राष्ट्रको विकाससँग जोडिएको बताउनुभयो ।

उहाँले अझै पनि देशकै राजधानी एवं शहर काठमाडौं उपत्यका नजिकका स्वास्थ्य संस्थामा नै यौन तथा प्रजनन स्वास्थ्य सेवा प्रयाप्त मात्रामा नभएको सुनाउनुभयो । उहाँले पत्रकारहरुले प्रजनन स्वास्थ्यसँग सम्बन्धित विषयमा सकारात्मक अभ्यासलाई फ्ल्यास गरे सबैलाई उत्प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो । यसैगरी मिडिया एक्सन नेपालका अध्यक्ष पन्तले यही तालिमका लागि विषयवस्तु तयार गर्ने क्रममा तीन महिनासम्म यौन तथा प्रजनन स्वास्थ्यसँग जोडिएका विषयवस्तु मिडियामा कसरी आएका छन् भनेर अध्ययन गरेको बताउनुभयो ।

उहाँले यसको सार्वजनिक तालिमको अन्तिम दिन गरिने पनि जानकारी दिनुभयो । उहाँले पत्रकारहरुले यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी विषयमा रिपोर्टिङ गर्दा अझ बढी संवेदनशिल हुनुपर्नेमा पनि जोड दिनुभयो । तालिममा सहभागीमध्ये १५ जना पत्रकारहरुले विशेष फेलोसिप समेत पाउने उहाँले सुनाउनुभयो ।