जनता टाइम्स

१६ कार्तिक २०७७, आईतवार ०९:३९

ओली पक्षधर मन्त्रीलाई बर्खास्त गर्दै मुख्यमन्त्री शाही


सुर्खेत, कात्तिक १६ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिमण्डल हेरफेर गर्ने गृहकार्य अघि बढाउनु भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका दुई मन्त्रीलाई बर्खास्त गरी बरिष्ठ नेता माधव नेपाल समूहका तीन जनालाई मन्त्री बनाउने गृहकार्य मुख्यमन्त्री शाहीले गर्नुभएको हो ।

मुख्यमन्त्री शाहीलाई दसैं अगावै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले ओली पक्षका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढालाई हटाएर नेपाल पक्षका तीन जनालाई मन्त्री बनाउन निर्देशन दिइसक्नु भएको छ । यसअघि प्रचण्डकै आदेशमा शाहीले प्रमुख सचेतक गुलावजंग शाहलाई बर्खास्त गरिसक्नु भएको छ । अव ओली पक्षधर दुई मन्त्री हटाएर बैंकिङ कसुरमा परेपछि हटाइएका खड्कबहादुर खत्रीसहित तीन जनाको स्थानमा नेपाल पक्षधर सांसदलाई मन्त्री बनाउने मुख्यमन्त्री शाहीको योजना छ ।

मुख्यमन्त्री शाहीले हटाउने पूर्वसूचना पाएपछि सामाजिक विकास मन्त्री दल रावलले अघोषित रुपमा पद त्यागेको जानकारी सामाजिक सन्जालमार्फत् दिनुभएको छ । ‘कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको हैसियतले ३२ महिनाको अवधिमा मन्त्रालयलाई नवजात अवस्थाबाट शिशु अवस्थामा पुर्याउन प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग गर्नुहुने समआदरणीय महानुभावहरुप्रति ऋणी छु,’रावलले फेसबुकमा लेख्नुभएको छ ।शाहीले बिना अपराध ओली पक्षका दुई मन्त्री बर्खास्त गरेका कर्णालीबाट नेकपा बिभाजनको औपचारिक बिजारोपन हुनेछ ।

यो पनि पढनोस

दुई मन्त्री बर्खास्त गर्न अध्यक्ष प्रचण्डको निर्देशन