नयाँदिल्ली, जेठ १७
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन नयाँ दिल्ली आइपुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत सरकारले उच्च सम्मान दिएको छ । छिमेकी मित्रराष्ट्र नेपालको प्रधानमन्त्री ओलीलाई राष्ट्रपति रामनााथ कोभिन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले उच्च सम्मान दिनुभएको हो ।
भारतको उच्च सम्मान पाउनु भएका प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्रीलाई हैदरावाद हाउसमै सरप्राइज दिनुभएको छ । प्रधानमन्त्री ओलीले आज भएको वान टु वान भेटबार्तामा आफ्ना समकक्षी मोदीलाई सवैभन्दा मनपर्ने रुद्राक्षको माला उपहार दिएर सरप्राइज दिनुभएको हो । हिन्दु धर्ममा कट्टर मोदीलाई रुद्राक्षको माला सवैभन्दा बढी मनपर्ने बस्तु हो । रुद्राक्षको माला सरप्राइज पाएपछि भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री आलीलाई धन्यवादसहित मनको कुरा पाएको टिप्पणी गर्नुभएको छ । भेटमा दुई नेताबीच नेपाल भारत सम्बन्ध बिस्तारबारे खुलेर कुराकानी भएको छ ।
भेटमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले नेपाल भारत सम्बन्ध नयाँ उचाइमा पुर्याउने अठोटसमेत गर्नुभएको छ । प्रधानमन्त्री ओली छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा सहभागी भई शुभकामना दिन हिजो दिल्ली जानुभएको थियो । सोही क्रममा आज दुई नेताबीच भेटबार्ता भएको हो । भेटमा दुबै नेताले द्वीपक्षीय सम्बन्धलाई राज्यस्तरमा र जनस्तरमा पनि अझै सुमधुर बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
भेटको अवसरमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल सरकार र नेपाली जनताको तर्फबाट औपचारिक रुपमा बधाइ दिनुका साथै मोदीको दोस्रो कार्यकालमा नेपाल भारत सम्बन्ध नयाँ उचाईमा पुग्ने बिश्वास ब्यक्त गर्नुभएको छ । भारतीय प्रधानमन्त्री मोदीले पनि नेपाल भारत सम्बन्धलाई प्रगाढ बनाउन मिलेर काम गर्ने प्रतिवद्धता जनाउनु भएको छ । भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रपति रामनाथ कोभिन्द र प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्ता दिनुभएको छ ।
राष्ट्रपति बिद्यादेवी भण्डारीको तर्फबाट भारतीय राष्ट्रपति कोभिन्द तथा आफ्नो तर्फबाट प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको नयाँदिल्लीस्थित नेपाली राजदुतावासले जनाएको छ । जवाफमा मोदीले नेपाल भ्रमणको निम्तो स्वीकार गर्नुभएको छ । प्रधानमन्त्री ओली आजै स्वदेश फर्कदै हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्