जनता टाइम्स

२० कार्तिक २०७७, बिहीबार १३:५५

बाँकेमा उपचाररत ३० जना कोरोना संक्रमित सिकिस्त


नेपालगञ्ज, कात्तिक २०

बाँकेका दुई ठूला अस्पतालमा उपचाररत ३० जना कोरोना संक्रमित सिकिस्त अवस्थामा पुगेका छन्। भेरी अस्पताल, नेपालगञ्ज र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत १०१ जना कोरोना सङ्क्रमितमध्ये ३० जना सिकिस्त रहेको स्वास्थ्य कार्यालय, बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार, भेरी अस्पतालमा १८ र शिक्षण अस्पताल कोहलपुरमा १२ गरी ३० बिरामी सिकिस्त छन्। भेरीमा ३६ र कोहलपुरमा १४ गरी मध्यम खालका बिरामी ५० जना छन्। भेरीमा ९ र कोहलपुरमा १२ गरी अस्पतालमा २१ सामान्य बिरामी उपचाररत छन्। बाँके र बाहिरी जिल्लाबाट उपचारका लागि अस्पतालमा भर्ना भएका सङ्क्रमितको दैनिकजसो मृत्यु भइरहेको छ ।

लक्षण देखिएका बिरामीलाई सामान्य, मध्यम र सिकिस्त तीन चरणमा विभाजन गरेर उपचार दिने गरिएको स्रोत व्यक्ति श्रेष्ठको भनाइ छ। कोरोना सङ्क्रमित सिकिस्त बिरामी जोखिममा रहने गर्छन्। बाँकेका विभिन्न स्थानीय तहमा १९१ कोरोना सङ्क्रमित छन् । उनीहरु होम आइसोलेसनमा बसेका छन् । यहाँ कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार २८७ पुगेको छ भने दुई हजार ९७३ जना निको भई घर फर्किएका छन्।

नेपालगञ्ज उपमहानगरपालिकामा ९३, कोहलपुर नगरपालिकामा ४१, खजुरा गाउँपालिकामा १०, बैजनाथ गाउँपालिकामा १४, जानकी गाउँपालिकामा १७ र राप्ती सोनारी गाउँपालिकामा ६ जना होम आइसोलेसनमा रहेको स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिनुभयो । बाँकेमा हालसम्म १३ महिला र २१ पुरुष गरी ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।