जनता टाइम्स

२३ कार्तिक २०७७, आईतवार ०८:५५

सात बर्षमै बाबुसँग छुट्टिएकी थिइन कमला ह्यारिस


वासिङ्टन डिसी, (अमेरिका) कात्तिक २३ । अमेरिकी राष्ट्रपतिमा जो बाइडेन बिजयी भएसँगै उपराष्ट्रपतिमा विजयी भएर कमला ह्यारिसले अमेरिकामै नयाँ इतिहास कायम गर्नुभएको छ । राष्ट्रपतिमा जो बाइडेन विजयी भएसँगै उपराष्ट्रपतिमा कमलाको यात्रा निश्चित भएको हो । कमला अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित हुने पहिलो महिला मात्र होइन, पहिलो अश्वेत र एसियन अमेरिकन महिला समेत हुनुहुन्छ ।

अमेरिकामा हालसम्म अन्य दुईजना महिलाहरू मात्र उपराष्ट्रपतिका लागि उम्मेदवार बनेका थिए । सन् २००८ मा रिपब्लिकन पार्टीका तर्फबाट साराह पालिन र सन् १९८४ मा डेमोक्र्याटका तर्फबाट जेरल्डिन फरारो उम्मेदवार बन्नुभएको थियो । तर दुवैजनाले चुनाव जित्न सक्नुभएन । अमेरिकाको राष्ट्रपति वा उपराष्ट्रपति हुनका लागि अमेरिकामा नै जन्मेको अमेरिकी नागरिक हुनुपर्छ । अंगीकृत नागरिकता प्राप्त गरेको व्यक्ति अमेरिकाको राष्ट्रपति वा उपराष्ट्रपति हुन पाउँदैन । यो प्रावधान विदेशी प्रभावबाट मुलुकलाई बचाउने उद्देश्यले राखिदै आएको हो ।

अमेरिकी इतिहासि रच्दै उपराष्ट्रपतिमा बिजयी कमला ह्यारिस क्यालिफोर्नियाको ओकल्याण्डमा सन १९६४ को अक्टोबर २० मा जन्मिनुभएको थियो । उहाँका बुबा जमैकाबाट र आमा भारतबाट अमेरिका आउनु भएको हो । इन्डियन जमैकन मूलकी क्यालिफोर्नियाकी सांसदले डेमोक्रेटिक प्राइमरीमा राष्ट्रपति उम्मेदवारका लागि बाइडेनलाई नै चुनौती दिनुभएको थियो । तर पछि उहाँ राष्ट्रपतिको चुनावी दौडबाट आफै पछाडि हटदै बाइडेनलाई सहयोगको घोषणा गर्नुभयो ।

राष्ट्रपतिको उम्मेदवार बन्ने दौडबाट पछि हटेपछि पनि सधैँ उहाँको नाम चर्चामा रहिरह्यो । बाइडेनले उहाँलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने चर्चाका कारण समाचारका शीर्षकहरुमा ह्यारिस रहिरहनुभएको हो । एलिजाबेथ वारेनले अश्वेत महिलालाई उपरराष्ट्रपति उम्मेदवार छान्न बाइडेनलाई सुझाव दिंदै आफू पछाडि हटनुभएको थियो । क्यालिफोर्नियामा महान्यायाधिवक्ता भइसक्नु भएकी ह्यारिस देशव्यापी रूपमा भएको रङ्गभेदविरुद्धको प्रदर्शनका बीच प्रहरीमा सुधारको आह्वान गर्दै आउनुभएको छ ।

कमला ह्यारिसकी आमा श्यामला गोपालन क्यान्सर शोधकर्ता हुनुहुन्थ्यो भने बुबा डोनाल्ड ह्यारिस अर्थशास्त्री हुन । आमा श्यामलाले नै कमला नाम छनौट गर्नुभएको थियो । हिन्दु देवी लक्ष्मीको अर्को नाम पनि कमला हो । जब कमला ७ बर्षको हुनुहुन्थ्यो, बुबाआमाबीच पारपाचुके भयो । आमाले कमला र माया दिदीबहिनीलाई एक्लै हुर्काउनुपरेको थियो । कमला आफ्नी मावलकी हजुरआमाबाट निकै प्रभावित हुनुहुन्थ्यो । ह्यारिस बाल्यकालमा भारत जानुभएको थियो, उहाँकी हजुरआमा भारतीय स्वतन्त्रता संग्राममा भाग लिएकी एक उच्च तहकी सरकारी कर्मचारी हुनुहुन्छ । कमलाले अश्वेत विश्वविद्यालय र कलेज भनेर ऐतिहासिक रूपमा चिनिएको हावर्ड विश्वविद्यालमा अध्ययन गर्नुभएको हो ।