जनता टाइम्स

२४ कार्तिक २०७७, सोमबार १२:१०

मिस नेपालको फाइनल मंसिर २० गते


काठमाडौं, कात्तिक २४

मिस नेपाल २०२० को फाइनल मंसिर २० गते हुने भएको छ । कोरोनाका कारण रोकिएको प्रतियोगिताको फाइनल मंसिर २० गते हुने भएको हो । केहीदिन अगाडि काठमाडौं अडिसन सम्पन्न गरिसकेको आयोजक हिडन ट्रेजरले फाइनलको तयारी सुरु गरिसकेको जनाएको छ । प्रतियोगिताका लागि २१ जना प्रतिस्पर्धी छनोट गरिएको हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णीकारले जानकारी दिनुभयो ।

‘यो वर्ष २१ जना प्रतिस्पर्धीबीच प्रतिस्पर्धा हुनेछ । यसका लागि हामीले देशका मूख्य ९ सहरबाट प्रतिस्पर्धी छनोट गरिसकेका छौं । अहिले उहाँहरु तालिममा सहभागी भइरहनु भएको छ,’ अध्यक्ष दिवाकरले भन्नुभयो, ‘पब्लिकमा गएर प्राक्टिकलरुपमा गरिने क्रियाकलापबाहेक अन्य सबै गतिविधि तथा तालिमहरु यो वर्ष हुनेछन् र भइरहेका छन् ।’ अन्य वर्ष तीनदिन रेसिडेन्सियल तालिम गराउने आयोजकले यो वर्ष १५ दिन होटलमा राखेर प्रतिस्पर्धीलाई ट्रेनरबाट तालिम दिने छ ।

यो वर्षको फाइनलमा दर्शक भने सहभागी हुने छैनन् । दर्शकले भर्चुअल रुपमा टेलिभिजन तथा सामाजिक सञ्जालमा फाइनल हेर्न सक्नेछन् । कोरोनाको जोखिमका कारण दर्शकको उपस्थितिमा कार्यक्रम गर्न सम्भव नभएको आयोजकको भनाइ छ । हिडन ट्रेजरले कोरोना संक्रमणको जोखिम सुरु हुनुभन्दा अगाडि नै काठमाडौं बाहेक मुलुकका अन्य आठ सहरमा अडिसन लिएको थियो । कोरोनाका कारण केही महिना रोकिएको प्रतियोगिता पुनः सुरु भएको हो ।

‘फाइनल स्टेज निर्माण गरेर पहिलाको जस्तै फिजिकल रुपमा निर्णायक राखेर नै गरिने छ,’ दिवाकार भन्नुहुन्छ, ‘मात्रै यो वर्ष स्टेजमा दर्शक हुने छैनन् । बाँकी अन्य कुरामा हामी कुनै सम्झौता गर्ने छैनौं । प्राइज मनी पनि घटाएका छैनौं । शो को स्टान्टर र इमेज मेन्टेन गर्न पनि हामी कुनै पनि पक्षमा सम्झौता गर्दैनौं ।’