जनता टाइम्स

२५ कार्तिक २०७७, मंगलवार ०७:००

सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने सरकारको निर्णय


काठमाडौं, २५ कात्तिक । मन्त्रिपरिषद् बैठकले सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यसअघि गरेको निर्णय सच्याउँदै सरकारी अस्पतालमा अब कोरोना संक्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।

यसअघि निश्चित वर्गको मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय गरिएकोमा अब सरकारी अस्पतालमा निःशुल्क गर्ने निर्णय एक मन्त्रीले बताउनुभयो । उहाँले भन्नु भयो , ‘अब सबै सरकारी प्रयोगशालामा कोरोनाको परीक्षण निःशुल्क हुनेछ, सरकारी अस्पतालमा कोरोना संक्रमितको निःशुल्क उपचार गरिने निर्णय भएको छ ।’ सर्वोच्च अदालतले १५ असोजमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न आदेश दिएको थियो ।

फैसला पुनरावेदनका लागि सरकारले दिएको निवेदन समेत खारेज भएपछि सरकारलाई निर्णय उल्टयाउँदै सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय गरेको हो ।

बैठकले कोरोनाको भ्याक्सिन बन्नासाथ नेपालमा ल्याउने पहल गर्न अर्थ, परराष्ट्र र स्वास्थ्य सचिव रहेको कमिटी समेत बनाउने निर्णय गरेको ती मन्त्रीले जानकारी दिनुभयो ।