जनता टाइम्स

२७ कार्तिक २०७७, बिहीबार १६:१७

चित्रबहादुर केसीका छोराले आफ्नै पार्टी नेताको पोल खोलिदिएपछि…


काठमाडौं, कात्तिक २७ । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीका छोराले बाबुको नाममा पार्टीबाट चन्दा उठाएको बिषयलाई लिएर गम्भीर आपत्ति जनाएपछि सो पार्टीमा हल्लीखल्ली मच्चिएको छ ।

कोरोना पोजेटिभ एवं निमोनिया भएर काठमाडौंको मेडिसिटी अस्पतालमा उपचाररत केसीको अवस्था गम्भीर भएको भन्दै राष्ट्रिय जनमोर्चाले उपचार खर्चका लागि सहयोगदाताहरुलाई आह्वान गरेपछि छोरा सचित्र केसीले प्रतिवाद गर्नुभएको हो । केसीका जेठा छोरा सचित्रले ‘बुबाको अवस्था सामान्य रहेको’ भन्दै ‘पैसा उठाउने बाहनामा नफस्न’ फेसबुकमा स्टाटस लेखेपछि राष्ट्रिय जनमोर्चाभित्र हल्लीखल्ली मच्चिएको हो ।
‘सबै साथीहरुलाई अभिवादन । बुबा खतरामुक्त हुनुहुन्छ । अनावश्यक हल्ला गरेर पैसा उठाउने बाहनामा कोही पनि नफस्नुहोला । आवश्यक परे पारिवारिक रुपमा हामीले सूचना गर्नेछौं,’ केसीका जेठा छोरा सचित्रले फेसबुकमा लेख्नुभएको छ ।

केसीको उपचारका लागि पार्टीबाट उपचार खर्च जुटाउने अभियान सुरु गरेकोप्रति लक्षित गर्दै छोरा सचित्रले भन्नुभएको छ, ‘चित्रबहादुर गम्भीर छन् भनेर प्रचार गरिएको छ, त्यो सर्वथा झूठ हो, यसको पछि नलाग्नुहोला । शुभ रात्री ।’ जापानमा बस्ने छोराले बुबाको अवस्था सामान्य रहेको भन्दै पैसा उठाउने बाहनामा नफस्न आग्रह गरे पनि पार्टीले चाहिँ पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका केसीको अवस्था गम्भीर रहेको बताएको छ । बिहीबार नेकपाका मसालका महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी विज्ञप्तिमा केसीको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

‘का. के.सी अहिले पाटनको मेडिसिटी हस्पिटलमा उपचाररत हुनुहुन्छ । उहाँलाई कोरोना भाइरसको पोजेटिभ देखिएको छ । त्यो सामान्य कुरा हो । तर, उहाँ लामो समयदेखि पेटको दीर्घरोगी हुनुहुन्छ । त्यसले गर्दा उहाँ धेरै कमजोर हुनुभएको छ । अहिले निमोनिया र लामो कैयौँ दिनदेखिको डाइरिया तथा वृद्धाअवस्थाका कारणले पनि उहाँको स्वास्थ्य चिन्ताजनक बन्न पुगेको छ,बिज्ञप्तीमा भनिएको छ ।’ त्यसैगरी राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले जारी गरेको विज्ञप्तिमा पनि अवस्था गंभीर रहेको भन्दै केसीलाई लामो समयसम्म अस्पतालमा राखी उपचार गर्नुपर्ने भएकाले पार्टीको बैंक खातामा आर्थिक सहयोग गरिदिन कार्यकर्ता तथा शुभेच्छुकसँग आह्वान गरिएको छ । जनमोर्चाले आज पुनः अर्को विज्ञप्ति जारी गर्दै खाता नम्बर परिवर्तन भएको जनाएको छ ।

पछिल्लो विज्ञप्तिमा भनिएको छ, ‘हिजो प्रेषित प्रेस वक्तव्यमा का. चित्रबहादुर केसीको उपचारको लागि सहयोग पठाउनका लागि दिइएको राष्ट्रिय जनमोर्चाको बैंक खाता नम्बरमा बैंकले ४ वटा अंक थपी परिवर्तन गरेकाले नयाँ खाता नम्बर निम्नानुसार भएको जानकारी गराइन्छ ।’ नयाँ खाता नम्बर राष्ट्रिय जनमोर्चा, वचत खाता नं. १४२०१००००४१७३००१ राष्ट्रिय बाणिज्य बैंक, नयाँ बानेश्वर शाखा रहेको जनमोर्चाले जनाएको छ । केसीका परिवार र पार्टीबीच जुहारी चलिरहेको बेला सरकारले नै केसीको उपचार खर्च बेहोर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले पूर्वउपप्रधानमन्त्री केसीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक जानकारी दिनुभएको छ ।