जनता टाइम्स

२८ कार्तिक २०७७, शुक्रबार १५:५६

जुम्लामा नाक, कान र घाँटीको विशेषज्ञ सेवा शुरु


कर्णाली, कात्तिक २८

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा नाक, कान र घाँटीको विशेषज्ञ स्वास्थ्य उपचार सेवा शुरु भएको छ । यही सातादेखि प्रतिष्ठानमा नाक, कान र घाँटीको स्वास्थ्य उपचार सेवा शुरु भएको हो । नाक, कान र घाँटीको उक्त स्वास्थ्य उपचार सेवा विशेषज्ञ डा. सरोज काफ्लेले शुरु गर्नुभएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिनुभयो ।

प्रतिष्ठान शिक्षाध्यक्ष डा. निरेश थापाले नाक, कान, घाँटीको विशेषज्ञ सेवा प्रवाहले कर्णालीवासीलाई थप सहयोग पुगेको बताउनुभयो । यसअघिदेखि प्रतिष्ठानले जिपी इमरजेन्सी मेडिसन, सर्जरी, महिला तथा प्रसुति रोग, मेडिसिन, हाडजोर्नी तथा नसा, मनोचिकित्सा, बालरोग, दाँत, प्याथोलोजी, अप्थलोजी, आइसियु, एनआईसीयु, कोरोना आईसीयू, पल्मोनोलोजीलगायत विशेष सेवा दिँदै आइरहेको शिक्षाध्यक्ष डा. थापाले बताउनुभयो ।

‘क्यान्सर, मिर्गौला, न्यूरो स्पाइनल सर्जरी रोगका लागि नेपाल सरकारले प्रतिष्ठानलाई सूचीकृत गर्दैछ’, उहाँले भन्नुभयो, ‘अब कर्णालीका नागरिकले यी जटिल खालका रोगहरुको प्रतिष्ठानबाट निःशुल्क उपचार पाउनेछन् ।’ अस्पताल निर्देशक डा. मङ्गल रावलले प्रतिष्ठानको स्वास्थ्य तथा शिक्षा क्षेत्रमा अपेक्षित उपलब्धि हासिल भएको र यसको संस्थागत विकासमा सबै एक भएर लाग्नुपर्ने बताउनुभयो ।

‘प्रतिष्ठानले कर्णाली प्रदेशका १० जिल्लासहित सुदूरपश्चिम प्रदेशका बझाङ् बाजुरा र अछाममा समेत आफ्नो सेवा प्रवाह गर्दै आएको छ’, निर्देशक डा. रावलले भन्नुभयो, ‘यसले सेवा क्षेत्रका नागरिकलाई स्वास्थ्य उपचार, शिक्षा र रोजगारीको अवसर प्रदान गर्दै आएको छ ।’

मेडिकल कलेज भइसकेपछि सरकारले अनिवार्य डाक्टरी पढाई गराउनुपर्थ्यो । यद्यपि कोभिड–१९ को प्रतिकार्य, रोकथाम र नियन्त्रणसमेत पश्चिम नेपालमा प्रतिष्ठान खेलेको भूमिकालाई अध्ययन गर्दै नेपाल सरकारले स्नातकोत्तर चिकित्सा शिक्षाको अध्ययन अध्यापनको अनुमति दिइसकेको र केही समयपछि एमबीबीएस पढाईको तयारी हुने उहाँको भनाइ छ ।