जनता टाइम्स

२८ कार्तिक २०७७, शुक्रबार १८:११

नारायणकाजी एकाएक उत्तेजित बनेपछि…


काठमाडौं, कात्तिक २८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारलाई नै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको प्रवक्ता देख्न थाल्नुभएको तथ्य खुलेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकपछि प्रवक्ता श्रेष्ठले आफूमा रहेको यो तथ्यलाई उजागर गर्न पुग्नुभएको हो ।

सचिवालय बैठकको निर्णयबारे पत्रकारलाई जानकारी दिन उभिनुभएका प्रवक्ता श्रेष्ठले आफ्नो जिम्मेवारी बिर्सदै एउटा अध्यक्षको बिषयमा उल्टै पत्रकारलाई प्रश्न गर्नुभयो । पत्रकारमाझ अहिलेसम्म स्थायी कमिटीको बैठकपछि दुई अध्यक्षले जारी गर्नुभएको अन्तर पार्टी निर्देशन (अपानि) समेत नपढने खुलासा गर्न पुग्नुभएका प्रवक्ता श्रेष्ठले पत्रकारले अध्यक्ष प्रचण्डको पत्रबारे जानकारी मागेपछि एकाएक उत्तेजित बन्न पुग्नुभयो । सधैभरी अरुलाई दम्भी भन्दै आरोप लगाउने काममा अब्बल प्रवक्ता श्रेष्ठले आफूमा रहेको दम्भ पनि पत्रकारसामू देखाउन चुक्नुभएन ।

प्रवक्ता श्रेष्ठले सचिवालय बैठकमा अध्यक्ष प्रचण्डसहित पाँच सचिवालय सदस्यले अध्यक्ष केपी ओलीलाई लेखेको पत्र, जवाफमा अध्यक्ष ओलीले अध्यक्ष प्रचण्डलाई लेख्नुभएको पत्र र त्यस्को जवाफमा अध्यक्ष प्रचण्डले अध्यक्ष ओलीलाई लेख्नुभएको पत्रबारे जानकारी दिएपछि पत्रकारले उहाासँग प्रश्न गरेका थिए ।

त्यो प्रश्नले उहाँ एकाएक उत्तेजित हुनुभयो र पत्रकारतिर औंला ठड्याउँदै अर्का अध्यक्ष ओलीको पत्रबारे प्रश्न सोध्नुभयो । पत्रकारले प्रश्न गरे, ‘प्रचण्डले जवाफमा पठाउनु भएको पत्रमा के छ ?’ प्रवक्ता श्रेष्ठले औंला ठड्याउँदै जवाफ फर्काउनु भयो, ‘केपी कमरेडले दिनुभएको पत्रमा के छ ?’ पत्रकारले केही छैन भनेपछि उहाँ सान्त भएर बाहिरिनु भएको थियो ।