जनता टाइम्स

२९ कार्तिक २०७७, शनिबार १७:३१

महानगरले बिशेषज्ञ स्वास्थ्य सेवाको पहुँच बढाउन सहकार्य गर्ने : मेयर शाक्य


काठमाडौं, कात्तिक २९

विश्व मधुमेह दिवसका अवसरमा काठमाडौं महानगरपालिकाले नेपाल मधुमेही समाजलाई भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । विपन्न मधुमेहीहरुलाई उपचार र परीक्षणलगायत सबै सेवाहरु निःशुल्क प्रदान गर्दै आएको मधुमेही समाजलाई महानगरपालिकाले भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने भएको हो । दिवसका अवशरमा आज आयोजित कार्यक्रममा महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले राज्यले सेवा दिनुपर्ने वर्गलाई लक्षित गरी सेवा प्रदान गर्नेगरी भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने बताउनुभयो ।

महानगरपालिकाले विभिन्न सरकारी अस्पतालहरुलाई सहयोग गर्दै आइरहेको स्मरण गराउँदै आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत जनताको सेवाका लागि सहकार्य गर्न तयार रहेको बताउनुभयो । दिवसका अवसरमा १५ जना विशेषज्ञ चिकित्सकहरुबाट लिखित ‘मधुमेह’ नामक पुस्तक लोकार्पण गरिएको छ । यस्तै मधुमेह रोगसम्बन्धी ससाखः कका नामक लघु चलचित्र पनि प्रदर्शन गरिएको छ ।

नेपाल मधुमेही समाजका अध्यक्ष शिव श्रेष्ठले कोभिडबाट मधुमेहबाट पीडित व्यक्तिहरु बढी प्रभावित भएकाले नियमित रुपमा मधुमेहसम्बन्धी विशेषज्ञ चिकित्सकको व्यवस्था गर्न महानगरसँग आग्रह गर्नुभयो । वरिष्ठ मुटुरोग विशेषज्ञा डा. प्रकाशराज रेग्मीले मधुमेहको उपचार भनेर सुगर नियन्त्रण मात्रै हो भन्ने सोच परिवर्तन गर्न सबैमा आग्रह गर्नुभयो ।

उहाँले नसर्ने रोग भए पनि कोरोना महामारीभन्दा मधुमेह रोग बढी खतरनाक भएको बताउनुभयो । नेपाल मधुमेही समाजले अहिले विशेषज्ञहरुबाट मधुमेह, ग्रन्थी, थाइरोइड, मुटु, आँखा, हाड जोनी तथा ईसीजी, इकोलगायत सेवा न्यून शुल्कमा उपलब्ध गराउँदै आएको छ ।