जनता टाइम्स

३० कार्तिक २०७७, आईतवार २०:४२

दस्तावेजमा पार्टी देखिनुपर्छ कुनै व्यक्तिका आग्रहहरु हैन : शंकर पोखरेल


शंकर पोखरेल

नेतृत्वले जे गर्छ ठिक गर्छ भन्ने म ठान्दै ठान्दिन । अहिले हाम्रो नेतृत्वले विवेक गुमाएको छ । विवेक फर्काउनुपर्छ । नेतृत्वले विवके गुमाएको बेला म नेतृत्वले अच्छा गर्यो भन्ने पक्षमा छदै छैन । यो मुलुकलाई एकता आवश्यक छ विवाद हुदै होइन् ।

आज नेतृत्वले विवेक गुमाएको छ । नेतृत्वले प्रस्तुत गरेको दस्तावेज हेर्नुहोस् त । त्यहा पार्टी छ कि कुण्ठा छ । पार्टी छैन, कुण्ठा छ । त्यस्तो प्रकारको दस्तावेजबाट पार्टी निर्माण हुन सक्दैन । त्यसर्थमा नेतृत्वले विवेक गुमाएका बेला कार्यकर्ताले नेतृत्वलाई संमयममा राख्न सक्नुपर्दछ । पार्टी एकताको रक्षाका लागि हामी सबैको कर्तव्य हो, नेतृत्व आफ्नो स्वार्थका लागि विवेक नगुमाओस् ।

बहस त गर्नुपर्छ । आन्दोलन बहसबाटै निर्माण हुन्छ । तर, यतिबेलाको खाँचो के हो ? एकतालाई पूर्णता दिनुपर्ने आवश्यकता प्राथमिकता हो । आज हाम्रा हजारौ हजार कार्यकर्ताहरु जिम्मेवार विहिन अवस्थामा हुनुहुन्छ । थुप्रै कमिटीहरु बन्न बाँकी छन् । केन्द्रीय कमिटीले भन्यो, यति महिनामा एकता पूर्ण गर । स्थायी कमिटीले भन्यो, १५ दिन भित्र एकता पुरा गर । सचिवालयले भन्यो, १० दिनभित्र एकता पूर्ण गर । त्यो काममा नेतृत्वको ध्यान नजानु, नेतृत्वको कमजोरी हो भन्ने म ठान्छु ।

एकता पूर्ण गरिसकेपछि त महाधिवेशनमा हामी प्रवेश गर्छौं नि । महाधिवेशनमा प्रवेश गरेपछि सबै चिजको समिक्षा हुन्छ । विचारको बहस हुन्छ र एकता जोडिन्छ । संक्रमणकालको अन्त्य नगरीकन विचारको बहसले पार्टीलाई कमजोर बनाउँछ । एकतालाई पूर्णता बनाउने कुरा यतिबेलाको आवश्यकता हो । नेतृत्वले जुन हिसाबले विवेक गुमाएको छ, त्यो विवेक जोड्ने कुरा कार्यकर्ताको जिम्मेवारीको कुरा हो ।

निर्वाचनमा जाँदा हामी दुई पार्टीले एकताको कुरा लगेका थियौं, त्यो एकतालाई जोगाउने पहिलो शर्त हो भन्ने कुरा बुझ्नुपर्छ । बहस दोस्रो कुरा हो । पार्टी जोगिएपछि बहस गर्दै गरौलाँ । पार्टी नेताहरु जुन मुद्धा उठाएर बहस गर्दै हुनुहुन्छ, त्यहा पार्टी छैन, गुट छ, समुहबन्दी छ । दस्तावेजमा पार्टी देखिनुपर्छ कुनै व्यक्तिका आग्रहहरु हैन । दस्तावेज पूर्ण हुनुपर्छ, त्यो पूर्ण बनाउने कुरा चाँही यतिबेलाको आवश्यकता हो । हामी त्यो अभियानमा जुट्ने छौं ।

एकपटक फुट्न लागेको पार्टी हामीले जोडेका छौं । र म के विश्वास दिलाउन चाहान्छु भने अहिले पनि हामी जोड्छौं । नेतृत्वले विवेक गुमाउने वित्तिकै पार्टी बिग्रिन्छ भन्ने मलाई लाग्दैन । हामी फेरी नेतृत्वलाई सम्हाल्छौं, फेरी जोगाउछौं । (उहा नेकपाका स्थायी कमिटी सदस्य एंव लुम्बिनी प्रदेशका मुख्यमन्त्री हुनुहुन्छ)