जनता टाइम्स

३ मंसिर २०७७, बुधबार २०:०५

यस्तो छ नेकपा सचिवालय बैठकको सार कुरा


काठमाडौं, मंसिर ३ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाउनु भएको आधारहीन आरोपको राजनीतिक रुपमा जवाफ दिने आफ्नो निश्कर्ष सुनाउनु भएको छ । अध्यक्ष ओलीले प्रचण्डले लगाएको आरोप अस्वीकार र खारेज गर्दै त्यस्को जवाफ दिने बताउनु भएको र आरोपको छिनोफानो नगरी पार्टी एकता अघि बढन नसक्ने आफ्नो निश्कर्षसमेत सुनाउनु भएको छ ।

नेकपाका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री इश्वर पोखरेलले प्रधानमन्त्री ओलीले एक एक आरोपको जवाफ दिने जानकारी बैठकलाई गराउनु भएको तथ्य बाहिर ल्याउनु भएको छ । पोखरेलले बैठकको निश्कर्ष राख्दै भन्नुभएको छ, ‘आफूमाथि लगाइएका ‘तथ्यहीन , आधारहीन, पार्टी एकतामा गंभीर रूपमा आँच पुर्याउने मनसाय र उद्देश्यबाट प्रेरित आरोपहरू’ लाई आफूले अस्वीकार गर्ने र खारेज गर्ने उदघोष गर्नुभएको छ केपी शर्मा ओलीले सचिवालयको बैठकमा । त्यसको व्यवस्थित र सामग्रिक रूपमा खण्डन गर्ने कुराको समेत घोषणा गर्नुभएको छ उहाँले । यी आरोपहरूको छिनोफानो नगरी पार्टी एकताको प्रकृयालाई अगाडि बढाउन सहज र संभव नहुने कुराको समेत उल्लेख गर्नुभएको छ । यो गंभीरतालाई पार्टी एकताको पक्षमा उभिनु भएका नेकपाका सबै तहका नेता, कार्यकर्ताहरूले बुझौं र त्यसै अनुसार आफूलाई तयार बनाऔं !! ।’

आजको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले जवाफका लागि राजनीतिक प्रतिवेदन लेख्न १० दिनको समय माग्नुभएको थियो । उहाँको प्रस्तावलाई सचिवालय बैठकले स्वीकार गरी मंसिर १३ गतेसम्म बैठक स्थगित गरिएको छ । आजको बैठकमा नेता पोखरेलसहित गृहमन्त्रीसमेत रहनुभएका सचिवालय सदस्य रामबहादुर थापाले पनि प्रधानमन्त्रीको प्रस्तावअनुसार जानुपर्ने धारणा राख्नुभएको छ । पार्टी एकतालाई कमजोर बनाउने गरी अध्यक्ष प्रचण्डको प्रस्ताव आएको भन्दै दुवै नेताले त्यो आरोपमा सहमत हुन नसक्ने र पार्टी एकताको रक्षा नगर्ने प्रतिवेदन फिर्ता हुनुपर्ने आफ्नो निश्कर्ष सुनाउनु भएको थियो भने महासचिव बिष्णु पौडेलले सामुहिक राजीनामाको प्रस्ताव गर्नुभएको थियो ।